सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

माघ महिनाभर सभा, भेला गर्न नपाइने

मंगलबार, माघ ४ २०७८
माघ महिनाभर सभा, भेला गर्न नपाइने

सार्वजनिक सेवा लिन खोपको पूर्ण मात्रा लगाएको हुनुपर्नेछ भने भौतिक उपस्थिति भइ गर्नुपर्ने गोष्ठी, सेमिनार, समीक्षा बैठकमा  खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ। 

काठमाडाैं- बढ्दो कोभिड-१९ सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन्। त्यस्तै आमसभा, जुलुस, सभा, भेलालगायत गतिविधि पनि निषेध गरिएको छ। 

कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन आज मध्यरातदेखि माघ मसान्तसम्म लागू हुने गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बेग्लाबेग्लै आदेश जारी गरी भीडभाड हुने  गतिविधिमा रोक लगाएका हुन्। आदेशअनुसार गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट  गर्नुपर्ने, भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुनुपर्ने व्यवस्था छ।

माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्नुपर्ने छ। धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूरा, ध्यान र प्रार्थना मात्र गर्न पाइनेछ।

त्यसैगरी, सार्वजनिक स्थलमा माघ ७ गतेदेखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क नलाएका यात्रीलाई पाँच रुपैयाँमा मास्क उपलब्ध गराउन सकिने आदेशमा उल्लेख छ।

सार्वजनिक सेवा लिन खोपको पूर्ण मात्रा लगाएको हुनुपर्नेछ भने भौतिक उपस्थिति भइ गर्नुपर्ने गोष्ठी, सेमिनार, समीक्षा बैठकमा  खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ। 

सार्वजनिक निकायमा सेवा प्राप्त गर्न, रंगशाला, होटल र रेस्टुरेन्टमा प्रवेश गर्न पनि खोप कार्ड अनिवार्य गरिएको छ। खोपकार्डको फोटो  मोबाइल फोन राखेर आवश्यकताअनुसार देखाउन सकिने स्थानीय प्रशासनले जारी गरेका आदेशमा उल्लेख छ।  


प्रकाशित : मंगलबार, माघ ४ २०७८११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend