बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

लाभांश घोषणा नगर्दा बैंकहरूको वितरणयोग्य नाफा बढी देखियो, नियामकीय सुविधाले खुद नाफामा सुधार

खराब कर्जा बढ्यो

बुधबार, कात्तिक ७ २०८१
लाभांश घोषणा नगर्दा बैंकहरूको वितरणयोग्य नाफा बढी देखियो, नियामकीय सुविधाले खुद नाफामा सुधार

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले कुल १६ अर्ब २४ करोड खुद नाफा गर्न सफल भएका छन्। गत वर्षको यसै अवधिमा बैंकहरूले १३ अर्ब ३४ करोड रुपैयाँ खुद नाफा गरेका थिए।

काठमाडौं- लाभांश दिने क्षमता भएका वाणिज्य बैंकहरूले समेत चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लाभांश घोषणा नगर्दा वितरणयोग्य नाफा बढी देखिएको छ। लाभांश दिने क्षमता भएका वाणिज्य बैंकहरूले समेत वासेल रिपोर्ट राम्रो देखाउनका लागि पहिलो त्रैमाससम्म पनि लाभांश घोषणा नगरी वितरणयोग्य नाफा बढी देखाएका हुन्। 

वितरणयोग्य नाफा सञ्चित नाफाको रुपमा टायरवान क्यापिटलमा देखाउन पाउने भएकाले बैंकहरूले लाभांश घोषणामा ढिलाइ गरेका हुन्। गतवर्षको सञ्चित नाफामा यस वर्षको नाफा जोड्दा बैंकहरूको टायरवान क्यापिटल बढ्ने भएकाले बैंकहरूले पहिलो त्रैमास अगाडि लाभांश घोषणा नगरेका हुन्। 

विशेषगरी नबिल बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंकलगायतका बैंकहरू लाभांश घोषणामा ढिलाइ गरेर वासेल प्रतिवेदनमा लाभ लिने रणनीतिमा देखिएका छन्। 

पहिलो त्रैमासमा वासेल रिपोर्ट सकारात्मक देखाएपनि दोस्रो त्रैमाससम्ममा लाभांश घोषणा गरी साधारणसभा सम्पन्न गरिसक्नुपर्ने भएकाले दोस्रो त्रैमासमा वासेल रिपोर्टमा दबाब पर्ने निश्चित छ। 

राष्ट्र बैंकलाई भने बैंक वित्तीय संस्थाहरूले प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र वासेल रिपोर्ट पठाउनुपर्छ। कुनै पनि आर्थिक वर्षको कुनै पनि महिनामा टायरवान क्यापिटल अपुग भएमा राष्ट्र बैंकले उक्त वर्षको लाभांश घोषणामा रोक लगाउने व्यवस्था छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले कुल १६ अर्ब २४ करोड खुद नाफा गर्न सफल भएका छन्। गत वर्षको यसै अवधिमा बैंकहरूले १३ अर्ब ३४ करोड रुपैयाँ खुद नाफा गरेका थिए। गत वर्षको तुलनामा वाणिज्य बैंकको खुद नाफा २१.६४ प्रतिशतले बढेको छ। 

चालु आर्थिक वर्ष बैंकहरूले व्यवसाय विस्तार गरेरभन्दा पनि राष्ट्र बैंकले दिएको नियामकीय सुविधाले नाफामा सुधार गरेका हुन्।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत असल कर्जामा नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट घटाएर १.१० प्रतिशत कायम गरेको छ।

यस्तै राष्ट्र बैंकले खराब कर्जामा परिणत भइसकेका कर्जा भुक्तानी भएमा त्यसलाई सुक्ष्म निगरानीमा राखेर ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरेको छ। यसअघि खराब कर्जा असुली भइ साँवाब्याज नियमित भएपनि उक्त कर्जालाई ६ महिनासम्म असल कर्जामा राइट ब्याक गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो।

यस्तै मौद्रिक नीतिमार्फत निर्माण व्यवसायीको अनियमित भएका कर्जालाई समेत पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा दिएकाले पनि बैंकहरूको खुद नाफामा सामान्य सुधार देखिएको हो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश बैंकको खुद ब्याज आम्दानी र खुद ब्याज खर्चमा गिरावट आएको छ। नियामकीय सुविधाका कारण अधिकांश बैंकहरूले इम्पियरमेन्ट चार्ज राइट ब्याक गरेर नाफा बढाएका हुन्। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै खुद नाफा नबिल बैंकले गरेको छ। यस अवधिमा नबिल बैंकले २ अर्ब ५ करोड खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिको तुलनमा बैंकले ४० प्रतिशतले नाफा बढाएको छ।

नबिल बैंकको नाफा बढेपनि खराब कर्जामा वृद्धि देखिएको छ। बैंकले गत वर्षको अवितरित नाफालाई समेत जोडेर वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड रुपैयाँ पुर्‍याएको छ।

यस्तै ग्लोबल आइएमई बैंक १ अर्ब ५१ करोड  खुद नाफा गर्दै दोस्रो स्थानमा रहेको छ। यस अवधिमा १ अर्ब ४६ करोड खुद नाफासहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सर्वाधिक नाफा गर्ने बैंकहरूको सूचीमा तेस्रो स्थानमा रहेको छ। 

प्राइम कमर्सियल बैंकले आफ्नो खुद नाफा करिब ११ प्रतिशतले बढाउँदै चौथो स्थानमा रहेको छ। पहिलो त्रैमासमा यस बैंकले १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा गरेको छ। 

यस अवधिमा कुमारी बैंकले करिब ३०८ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा गरेको छ। एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब १९ प्रतिशतले आफ्नो खुद नाफा बढाएको छ। गत वर्षको यसै अवधिको तुलनामा यस बैंकले आफ्नो खुद नाफा करिब १९ प्रतिशतले बढाउन सफल भएको छ।

एभरेष्ट बैंकले पनि आफ्नो खुद नाफामा ४४ प्रतिशतले वृद्धि गरेको छ। गत वर्षको पहिलो त्रैमासमा ७८ करोड खुद नाफा गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा गरेको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा यस बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

यस्तै सिद्धार्थ बैंकले समेत आफ्नो खुद नाफा ७९१ प्रतिशतले सुधार गरेको छ। गत आर्थिक वर्ष पहिलो त्रैमासमा ४ करोड २८ लाख रुपैयाँ खुद नाफामा सीमित भएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३८ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ। 

यस अवधिमा नेपाल बैंकले लिमिटेडले आफ्नो नाफा ३२३ प्रतिशतले बढाउँदै ६० करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको छ। 
 
यस्तै नेपाल स्टाण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ८६ अर्ब २० करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ५३ करोड ६५ लाख रुपैयाँ, सानिमा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ, सिटिजन्स इन्टरनेसल बैंकले २४ करोड रुपैयाँ खुद नाफा गरेका छन्। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा कम खुद नाफा गर्नेमा एनआईसी एसिया बैंक रहेको छ। यस अवधिमा यस बैंकले १० अर्ब १० करोड रुपैयाँमात्रै खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा यस बैंकले १ अर्ब १ करोड खुद नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंकको नाफा ८९ प्रतिशतले घटेको छ। 

यस अवधिमा सबैभन्दा कम नाफा गर्ने अर्को बैंक कृषि विकास बैंक रहेको छ। यस बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोडमात्रै खुद नाफा गरेको छ। हिमालयन बैंकको नाफा करिब ३१ प्रतिशतले घटेपनि यस बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७२ अर्ब ४६ करोड खुद नाफा गरेको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश बैंकहरूको खराब कर्जा गत वर्षको यसै अवधिको तुलनामा बढेको छ। गत वर्षको यस अवधिमा बैंकहरूको खराब कर्जा उच्च रहेको थियो भने त्यसपछिका त्रैमासमा भने घटेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मी सनराइज बैंक खराब कर्जा नियामकीय प्रावधान ५ प्रतिशतभन्दा पनि माथि पुगेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराव कर्जा सबैभन्दा धेरै ५.८४  प्रतिशत र लक्ष्मी सनसाइज बैंकको खराब कर्जा बढेर ५.४४ प्रतिशत पुगेको छ।

यस्तै हिमालयन बैंक र प्रभु बैंकको खराब कर्जा ५ प्रतिशतनजिक पुगेको छ भने नबिल बैंकको पनि खराब कर्जा ४ प्रतिशतभन्दा माथि रहेको छ।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend