मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

राति ११ बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने तुलसीपुरका व्यवसायीको माग

मंगलबार, कात्तिक ६ २०८१
राति ११ बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने तुलसीपुरका व्यवसायीको माग

भट्टी पसललाई मात्रै ९ बजे बन्द गर्न लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले बताए।

तुलसीपुर- तुलसीपुरका होटल व्यवसायीले राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग गरेका छन्। कोरोना पछि होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा रहेको भन्दै राति ११ बजेसम्म खोल्न पाउनुपर्ने माग राख्दै आएका हुन्। 

'कोरोना पछि सबैतिरको व्यापार ठप्प छ। होटेल व्यवसायी थप मारका बेला विस्तारै चलायमान बन्दै गएको छ', कुमाख क्याफेका सञ्चालक तुफान केसीले भने, 'यस्तो बेला होटेललाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ।'

जिल्ला प्रशासन कार्यालयले ११ बजेसम्म सञ्चालन गर्न पाउने भनी पत्र दिएको भए पनि प्रहरीले ९ बजे बन्द गराउँदै आएको भन्दै यसले व्यवसायी थप मारमा परेका केसीले उल्लेख गरे। 'प्रहरीले जबर्जस्ती ९ बजे बन्द गराउँदै हिँडिरहेको छ', उनले भने, 'यसले हामीलाई निकै मार परेको छ।' 

राति गाडीमा बाहिरबाट आउनेहरुलाई पनि मध्येनजर गर्नुपर्ने भन्दै केसीले राति ११/१२ बजेसम्म होटल सञ्चालनको अनुमति पाए व्यवसायीलाई सहज हुने बताए। बाहिरबाट आउने आगन्तुकलाई बस्ने, खाने व्यवस्थाप्रति स्थानीय प्रशासनले ध्यान दिनुपर्नेमा उनले जोड दिए।  

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले राति ९ बजे बन्द गर्ने त्यस्तो कुनै निर्णय नभएको बताए। भट्टी पसललाई मात्रै ९ बजे बन्द गर्न लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले बताए।

'हामीले राम्रो तरिकाले चलिरहेका होटेललाई केही गरेका छैनौँ', उनले भने, 'रातिसम्म भट्टी चलाउनेलाई बन्द गराउने गरेका हौँ।' चाडपर्वको समयमा हुनसक्ने सम्भावित आपराधिक गतिविधिलाई मध्येनजर गरेर यस्तो काम गरिएको उनले बताए।  

होटेल कतिबेलासम्म सञ्चालन गर्ने भन्ने कुरा कुनै निर्णय नभएको भए पनि स्थानीय प्रशासनले सुरक्षालाई मध्यनजरगरी निर्णय गर्नसक्ने दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए। 'हामीले यतिबेलासम्म चलाउने भन्ने छुट्टै निर्णय गरेका छैनौँ', उनले भने, 'स्थानीय प्रशासनले आवश्यकताअनुसार सञ्चालन गर्नसक्छ। तुलसीपुरमा पाँच सय बढी होटेल व्यवसायी छन्।' रासस


प्रकाशित : मंगलबार, कात्तिक ६ २०८११०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend