शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

पर्वत र म्याग्दी जोड्ने माझफाँट-लेकफाँट सडक कालोपत्र हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ३० २०८१
पर्वत र म्याग्दी जोड्ने माझफाँट-लेकफाँट सडक कालोपत्र हुँदै

माझफाँटको भुरतुलादेखि लेकफाँटको गिद्धेश्वर क्षेत्रसम्मको सात दशमलब आठ किलोमिटर सडक स्तरोन्नतिसहित डिबिएसडी प्रविधिको कालोपत्र गर्न ३३ करोड रुपैयाँमा सम्झौता भएको हो।

म्याग्दी- बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट-लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका-८ नागी-राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ। 

सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो।

जलजला गाउँपालिका-३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म एक किलोमिटर चार सय मिटर कालोपत्र भइसकेको सडकको थप दुई किलोमिटर पनि कालोपत्र गर्न  ‘प्राइम’ र ‘फस्ट कोट’ विच्छ्याइएको जानकारी दिए। 

माझफाँटको भुरतुलादेखि लेकफाँटको गिद्धेश्वर क्षेत्रसम्मको सात दशमलब आठ किलोमिटर सडक स्तरोन्नतिसहित डिबिएसडी प्रविधिको कालोपत्र गर्न ३३ करोड रुपैयाँमा सम्झौता भएको हो। 

दुई लेनको सडकमा एक किलोमिटरभन्दा ढलान भइसकेको छ। छ किलोमिटर आठ सय मिटर विस्तारका साथै संरक्षण पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण पनि पूरा भएको छ। गिद्धेश्वरतर्फ एक किलोमिटर सडक फराकिलो बनाउन बाँकी छ। 

यसैबीच, बेनी-भुरतुला खण्डको अप्ठ्यारो ठाउँको सडक ढलानसहित स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन भएको योजना कार्यान्वयनको चरणमा रहेको जलजला गाउँपालिकाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असोज ३० २०८१०९:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend