शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

ग्राभेलिङ गरिएको पाँच वर्षपछि बुर्तिबाङ-म्याग्दी सडक कालोपत्र

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २९ २०८१
ग्राभेलिङ गरिएको पाँच वर्षपछि बुर्तिबाङ-म्याग्दी सडक कालोपत्र

सडक कालोपत्रका लागि पूर्वधार विकास कार्यालय बागलुङले बालेपत्र आह्वानगरी एसी कन्स्ट्रक्सनलाई जिम्मा लिएको छ। निर्माण कम्पनीलेले सडक कालोपत्रका लागि १२ करोड ७४ लाख रुपैयाँमा जिम्मा पाएको हो।

बागलुङ- बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ। बागलुङको बुर्तिबाङ-तमानखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र सुरु भएको हो।

विसं २०७० मा ट्र्याक खुलेको सडकको कालोपत्र गर्न थालिएको हो। सडकको ट्र्याक खुलेको छ वर्षपछि विसं २०७६ मा ग्राभेलिङ गरिए पनि हालसम्म कालोपत्र हुन सकेको थिएन। 

ग्राभेल गरेको सडक लामो समयसम्म कालोपत्र नहुँदा हिलाम्मे र धुलाम्मे बन्दा यात्रुले सास्ती खेप्नुपरेको थियो। यो सडक म्याग्दीसँग जोडिने सडक हो। तमानखोला पहिलो पटक कालोपत्र सडकले जोडिन थालेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए।

पालिकाको बजेटले निकै कम हुने हुँदा सडक कालोपत्र गर्न नसकिएको जनाउँदै प्रदेश सरकारले यस वर्ष बजेट विनियोजन गरेर काम अगाडि बढाएको उनले बताए। 

सडक निर्माण भएको यत्तिका वर्षसम्म यहाँका हजारौँ नागरिक कच्ची सडकमै यात्रा गर्न बाध्य भएको अध्यक्ष बुढामगरले बताए। बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म जोड्ने सडकमा दुई वटा पुल चार वर्ष अगाडि मात्रै बनेपछि अहिले बाह्रै महिना पालिकाको केन्द्रसम्म यातायात सञ्चालन हुने उनको भनाइ छ।

अध्यक्ष बुढामगरले भने, 'भौगोलिक हिसाबले तमानखोला मिलेको छैन, यहाँ सानो विकासका लागि ठूलो बजेट खर्च गर्नुपर्छ, पालिकाको स्रोत र साधन निकै कम छ, यद्यपि आधारभूत विकास भने गरिरहेका छौँ, सडक कालोपत्र गर्न त हामीले चाहेर पनि सकिँदोरहेनछ, एक किलोमिटर सडक कालोपत्र गर्न लाखौँ रकम चाहिँदोरहेछ। यति लामो सडक कालोपत्र गर्न त पालिकाले एक आर्थिक वर्षको सबै बजेट यहीँ खन्याउँदै पनि पुग्दोरहेनछ।'

सडक कालोपत्रका लागि पूर्वधार विकास कार्यालय बागलुङले बालेपत्र आह्वानगरी एसी कन्स्ट्रक्सनलाई जिम्मा लिएको छ। निर्माण कम्पनीलेले सडक कालोपत्रका लागि १२ करोड ७४ लाख रुपैयाँमा जिम्मा पाएको हो।

यस वर्ष गण्डकी प्रदेश कार्यालयले तीन करोडमात्रै बजेट विनियोजन गरेको छ। बहुवर्षे ठेक्काअन्तर्गत रहेको यो आयोजना विसं २०८३ साउन १९ गते सक्नेगरी जिम्मा पाएको एसी कन्स्ट्रक्सनका प्रमुख दीपक अदैले बताए। काम यसै सातादेखि सुरु गरेको उनले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, असोज २९ २०८१०९:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend