बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

किन यतिविधि महत्व पाइरहन्छ सुन?

शुक्रबार, असोज २५ २०८१
किन यतिविधि महत्व पाइरहन्छ सुन?

शाब्दिक चकम र धनको प्रतिकात्मक तस्बिर सँगसँगै मानव सभ्यतासँग बढिरहेको सुन अझै वर्षौंसम्म यसैगरी जाने देखिन्छ।

काठमाडौं- सुन। चम्किलो धातु। सजिलै पगालेर बन्छ सिक्कादेखि विभिन्न गहनासम्म। गजुरदेखि मूर्तिसम्म। खिया लाग्ने, खुम्चने र क्षय हुने डर छैन। सिधा ठाउँ बनाउँछ आँखामा र दिमागमा। यो अनौठो धातुले विश्व बजारलाई प्रभाव पारिरहेको वर्षौं भयो। 

सञ्चारमाध्यमले निरन्तर सुनका ठूल्ठूला ढिक्का देखाएर मूल्य घटबढमात्र होइन तस्करीका काण्ड पनि पढाइरहेकै छन्। साढे ३३ किलो सुन तस्करीले देश तातेको निकै भयो। जलहरीदेखि मूर्तिलेपनसम्म कति घोटाला भए। यस्ता कति काण्ड आउँदै सेलाउँदै भइरहँदा बजारमा लगानीको भरपर्दो माध्यममा सुनले आफूलाई सधैँ अघि राख्दै आएको छ। यस्तो लाग्छ समाजका हरेक तप्का सुनकै पछि छ।

नेपालका धेरै समाजमा सुन आभुषणमात्रै होइन संस्कृति नै बनेको छ। नाता जोड्ने माध्यम बनेको छ। कसैको सम्झना बनेको छ। कसैको चिनो बनेको छ। सम्बन्ध चम्काउने माध्यम बनेको छ। जोड्ने बेलामात्रै होइन, छोड्ने बेला पनि सुनकै खाँचो छ। धेरैको विश्वासमा बन्छ, अन्तिम सास फेर्न तुलसीको मठमा पल्टिएको बेला सुनपानी खुवाए ‘स्वर्गको बाटो'।

नेपाली बजारमा सुनले मूल्यमा कीर्तिमान बनाएको अब नौलो हुन छाडिसक्यो। २०७५ चैतमा ६० हजार ६ सय रूपैयाँ प्रतितोलाको मूल्यलाई अहिले फर्केर हेर्दा मानिसहरू दंग पर्छन्। अहिलेको अवस्था आँकलन गर्दै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने नै अनुमानहरू भइरहेका छन्। मूल्य बढिरहँदा यसमा भइपरीआउने लगानीबाहेक नै पनि आकर्षण कम भएको देखिँदैन। 

चर्को मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाएका संसारभरिका केन्द्रीय बैंकहरूले सुनको माग बढाएकाले पनि अहिले यसको मूल्य थप उकालो लागेको बताइन्छ। सन् २०२२ मा केन्द्रीय बैंकहरूले ऐतिहासिक रूपमा सुन खरिद गरेका थिए। त्‍यसबेला टर्की, उज्वेकिस्तान, भारत र कतार जस्ता देशले उच्च गतिमा सुन किनेका आँकडाहरू छन्। 

अमेरिकामा बैंकहरू धराशायी भएकाले पनि लगानीकर्ताहरूले लगानी सुरक्षित बनाउन सुनको शरण लिइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताइरहेका छन्। डलरको मूल्य घट्दा मूल्यवृद्धि बढ्छ। मूल्यवृद्धि बढ्दा सुनको मूल्य पनि बढ्ने गरेको छ। अमेरिकी डलरको विकल्पका रुपमा सुनलाई लिएर लगानी गर्नेहरू रहेकाले पनि यसको मूल्य बढिरहेको छ। केन्द्रीय बैंकहरूले आफ्नो मुद्राको सुरक्षा प्रत्याभूतिका लागि पनि मुख्य सम्पत्तिका रुपमा सुनको मौज्दात बढाउँदै लगेका छन्। 

सयौँ वर्ष भयो सुनमाथि मानिसको विश्वास जोडिएको। व्यापार विनिमयका अरू दर्जनौँ माध्यम यताउता भइसक्दा सुन भने प्रयोगमा अझ व्यापक बनिरहेकै छ। लगानीको माध्यम सँगसँगै जीवनयापनसँगै जोडिँदा नेपाली बजारमा यसको प्रयोग अनिवार्य झैँ बनिरहेको छ। 

आर्थिक सामाजिक पाटोसँगै सुनको धार्मिक र सांस्कृतिक सम्बन्धलाई पनि हेर्ने हो भने त यो अझै व्यापक देखिन्छ। कतिपयले त यसको औषधीय गुणका बारेमा पनि चर्चा गर्ने गरेका छन्। आयुर्वेदमा स्वर्णभस्मको सेवनले आयु र शक्ति वृद्धि हुनुका साथै रोग नाश हुने उल्लेख भएको जानकारहरू बताउँछन्। धर्म संस्कृतिको अभिन्न अंगमात्रै होइन नेपाली समाजले उखान टुक्कादेखि गीत संगीतमा सुनलाई जोडेको वर्षौं भयो। 

कुनै अन्य वस्तुभन्दा भिन्न जगतको स्वीकारोक्ति गरिएको समयको सुरुवातदेखि नै समाजको आकर्षण सुनमा बढ्दै गएको छ। कति साम्राज्यहरू सुनकै कारण उलटपुलट भए। इतिहासले सुनलाई अन्य कुनै पनि वस्तुभन्दा बढी शक्तिशाली बनाउँदै यहाँसम्म ल्याएको छ। सन् १९७० सम्म त अमेरिकी मौद्रिक प्रणाली नै सुनमा आधारित रहेको थियो। सुनको भौतिक आपूर्तिसँग जोडिएको त्यस्तो प्रणाली फेरिए पनि सारमा विषय अझै उस्तै छ।

मौलिक दृष्टिकोणलाई विचार गर्ने हो भने सुनलाई मुद्रास्फीतिको विरुद्ध अनुकुल बचाउको साधनका रुपमा पनि लिइन्छ। गिर्दो मुद्राको अवस्थामा जोगाउने साधनका रुपमा सुनको भण्डारणले काम गरिदिन्छ। किनभने मूल्यको शक्ति सुनजति सायदै अरू केहीमा छ। 

सुनमाथिको लगानीमा मानवीय मनोविज्ञानलाई पनि छुट्याएर हेर्न मिल्दैन। डर र अनिश्चितताको समयमा पनि बहुमूल्य पहेँलो धातु जहिले पनि लगानीमा बढ्न सकिने माध्यम बनेको छ। आर्थिक मन्दीको भयावहमा पनि मानिसले पहिलो साथ यसैको लिँदै आएका छन्। शाब्दिक चकम र धनको प्रतिकात्मक तस्बिर सँगसँगै मानव सभ्यतासँग बढिरहेको सुन अझै वर्षौंसम्म यसैगरी जाने देखिन्छ। 


प्रकाशित : शुक्रबार, असोज २५ २०८१०७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend