मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

ढोरपाटन आउने पर्यटकको बसाइ लम्ब्याउने गर्पाछेडा

सोमबार, असोज २८ २०८१
ढोरपाटन आउने पर्यटकको बसाइ लम्ब्याउने गर्पाछेडा

होटल र होमस्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठस्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरुलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ। बर्खामा बुकीमा गोठ लगेको समयमा मात्र त्यहाँ गोठस्टे सञ्चालन हुन्छ।

म्याग्दी- पहाडको टुप्पोमा भिरालो पाखा। जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली। पाखामा फुलेका रंगीबिरंगी फुल। तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट। वरपर देखिने थुम्का, थुम्की।

चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्रा र घोडाका बथान। गाईबस्तुको घाँटीमा झुण्डिएका घाडो (घण्टी)को एकनासको आवाज। शीतल हावापानी। एकान्त वातावरण। छिनछिनमा फेरिरहने मौसम। घाम, पानी र बादलको लुकामारी।

बिहानीपख सूर्योदय, साँझमा सुयास्त, पृष्ठभूमिमा लहरै रहेका सिस्नेदेखि मनास्लुसम्मका हिमालहरुको मनमोहक दृष्य। बादल हट्दा देखिने निलो आकाश। समुद्री सतहदेखि चार हजार १० मिटरको उचाइमा रहेको पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा पुग्दा कुनै चित्रकारले मेहनत गरेर बनाएको क्यानभास अवलोकन गरेझैँ आभास हुन्छ।

यहाँबाट सिस्ने, पुथा, गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ। ढोरपाटन शिकार आरक्षको पहाडी भूगोलको मनमोहक दृष्यका साथै बुकीको चरनमा रमाइरहेका भेडा, बाख्रा, घोडा, गाईभैँसीका बथानहरु थप आकर्षण हुन्।

ढोरपाटनको पाखाथरदेखि तीन घण्टा उकालो हिँडेपछि पुगिने गर्पाछेडा पूर्वीरुकुमको पुथा उत्तरगंगा गाउँपालिका र डोल्पाको सदुरमुकाम जाने परम्परागत पैदलमार्गमा पर्दछ। किसानहरुले बर्खायाममा पोषिलो घाँस खुवाउन गर्पाछेडा, टिकाडाडा, रासबन, दहखर्कमा घरपालुवा पशुचौपायाको गोठ लगेका छन्। 

पाहुनाका लागि ‘गोठस्टे’

गर्पाछेडामा पुग्ने पाहुनाहरुका लागि ‘गोठस्टे’ सञ्चालन गरिएको छ। होटल र होमस्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठस्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरुलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ। ‘ब्लु सिप गोठ स्टे’का सञ्चालक सन्देश थापाले पाहुनाहरुलाई घुम्ती टहरा र गोठमा खाजा, खाना खुवाउने र बास बस्ने व्यवस्था मिलाएको बताए।

'नाउर र झारलको बथान अवलोकन गर्न सकिने भएकाले गर्पाछेडाको ‘गोठस्टे’ लाई ब्लु सिप नामाकरण गरिएको हो,' उनले भने, 'जंगली जनावर, पक्षी, पहाडी भूगोल, वनजंगल, हिमाल, सुर्योदय र सुर्यास्तको मनमोहक दृष्यका साथै गोठालाहरुको जीवनशैली र दैनिकी अवलोकन गर्न पाउने यहाँको आकर्षण हो।'

गाईभैँसीको दूध, दहि, मोही, घ्यू, भेडा, बाख्राको मासु, निगालोको टुसा, रातो च्याउको तरकारी, ढिँडो, आटो पकाएर पाहुनालाई खुवाउने गरेको थापाले बताए। छुट्टै बस्नेहरुका लागि टेन्ट पनि राखिएको छ। बर्खामा बुकीमा गोठ लगेको समयमा मात्र त्यहाँ गोठस्टे सञ्चालन हुन्छ।

चिसो बढेपछि गोठ बेँसीतर्फ झर्छन्। प्रतिव्यक्ति दुई हजार शुल्कमा २ छाक खाना, २ छाक खाजा र सुत्न पाइन्छ। शुक्रबार, शनिबार र बिदाका दिन १४/१५ जनासम्म पाहुना आउने गोठस्टे अन्य दिन पनि खाली हुँदैन। गोठस्टेमा २० जनाको क्षमता छ। 

ढोरपाटन पर्यटन विकास संस्थाका सचिव जीवनकुमार पुनले गर्पाछेडामा खानेपानी, सार्वजनिक शौचालय र सञ्चार सुविधाका लागि स्थानीय तह, शिकार आरक्ष र प्रदेश सरकारसँग पहल गरिएको बताए। ढोरपाटन आउने पर्यटकको बसाइ लम्ब्याउन गर्पाछेडा, किटिनी डाडा, जलजलालाई नयाँ गन्तव्यको रुपमा विकास गरेको उनले बताए। रासस


प्रकाशित : सोमबार, असोज २८ २०८११०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend