मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

दुई महिनामै निगमको व्यापार ५५ करोडले घट्यो, भदौको व्यापार ६९ कराेडमात्रै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २२ २०८१
दुई महिनामै निगमको व्यापार ५५ करोडले घट्यो, भदौको व्यापार ६९ कराेडमात्रै

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार घट्दो छ। गत वर्षको बिग्रँदो व्यापार चालु आवमा झनै घटेको छ।

निगमले सार्वजनिक गरेको रिपोर्टअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिनामा गत आवको सोही अवधिको भन्दा ५५ करोड रुपयाँभन्दा बढीले व्यापार घटेको छ।

साउनमा निगमले जहाज उडाएर ९४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत आवको तुलनामा कम हो। गत आवको साउनमा निगमले जहाज उडाएर १ अर्ब ५ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको थियो। गत वर्षको साउनमा पनि एउटा न्यारोबडी जहाज ग्राउन्डेड थियो। जसमा कारण एक महिनामै ३० करोड रुपैयाँभन्दा बढी आम्दानी घटेको थियो।

यसैगरी भदौमा निगमले जहाज समयमा मर्मत गरेर उडान गर्न नसक्दा ठूलो मात्रामा आम्दानी गुमाएको छ। भदौमा निगमले जहाज उडाएर सबैभन्दा कम आम्दानी गरेको छ। निगमले भदौमा जम्मा ६९ करोड ४३ लाख रुपैयाँमात्रै आम्दानी गरेको छ।

निगम स्रोतका अनुसार कोभिडको समयलाई छोड्ने हो भने यो नै निगमले दुईवटा न्यारोबडी र वाइडबडीबाट अन्तर्राष्ट्रिय उडान थालेपछिकै कम आम्दानी हो।

निगमले गत वर्षको भदौमा १ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको थियो। गत वर्ष भदौमा पनि निगमको न्यारोबडी जहाज ग्राउन्डेड हुँदा व्यापार घटेको थियो। चालु आवमा गत वर्षको तुलनामा पनि ४३ करोड रुपैयाँले आम्दानी घटेको हो।

आम्दानी घटेपनि खर्च रकममा भने समस्या नरहेको निगमले बताइरहेको छ। तर जहाज खरिदमा लिएको ऋणको आंशिक किस्ता र ब्याजमात्रै तिरिरहेको छ। अहिलेसम्मको आम्दानीलाई हेर्दा योपटक निगम इतिहासमै सबैभन्दा बढी नोक्सानीमा जाने छ। 


प्रकाशित : मंगलबार, असोज २२ २०८१०६:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend