मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

एकैदिन २ सय ८६ पर्यटक मनाङ प्रवेश गरे, बढ्दै छ चहलपहल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १८ २०८१
एकैदिन २ सय ८६ पर्यटक मनाङ प्रवेश गरे, बढ्दै छ चहलपहल

उच्च हिमाली क्षेत्रको मौसम परिवर्तन भइरहने हुँदा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङले पर्यटकलाई सतर्क रहेर यात्रा तय गर्न आग्रह गरेको छ।

मनाङ- असोज महिना लागेयता मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ। गत मंगलबारमात्रै २ सय ८६ पर्यटक मनाङ प्रवेश गरे। एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो ।

बुधबार १ सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी दिए। असोज महिना घुम्न र पदयात्राका लागि उत्तम मानिन्छ। 

गत भदौमा विभिन्न ७४ देशका दुई हजार सात सय ६५ पर्यटक मनाङ घुम्न आएको पर्यटक सूचना केन्द्र धारापानीको तथ्यांकमा उल्लेख छ।

केन्द्रको तथ्यांकअनुसार सबैभन्दा धेरै इजरायलका पाँच सय ९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए। सोही महिनामा मनाङ भ्रमण गर्ने सङ्ख्याका आधारमा दोस्रो स्थानमा चिनियाँ पर्यटक थिए। तीन सय २७ चिनियाँ पर्यटकले मनाङ भ्रमण गरेका थिए।

पर्यटन व्यवसायी समितिका जिल्ला अध्यक्ष विनोद गुरुङले भने, 'यो महिना पदयात्राका लागि उपयुक्त महिना हो। त्यसैले पर्यटकको आगमन बढेको छ।'

चामे गाउँपालिका-५ चामेका पर्यटन व्यवसायी उषा लामाले मौसम अनुकूल बन्दै गएपछि पर्यटकक्रम बढेको बताए। 'यसले हामीलाई उत्साहित बनाएको छ', उनले भने। 

यस याममा मनाङ आउने पर्यटक घुम्नका लागि तिलिचो ताल पुग्ने गरेका छन्। उच्च हिमाली क्षेत्रको मौसम परिवर्तन भइरहने हुँदा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङले पर्यटकलाई सतर्क रहेर यात्रा तय गर्न आग्रह गरेको छ। रासस


प्रकाशित : शुक्रबार, असोज १८ २०८११३:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend