मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बाढीपहिरोले ठाउँ-ठाउँमा सडक अवरुद्ध हुँदा दुई महिनादेखि बागलुङका पर्यटकीय क्षेत्र सुनसान

बुधबार, असोज १६ २०८१
बाढीपहिरोले ठाउँ-ठाउँमा सडक अवरुद्ध हुँदा दुई महिनादेखि बागलुङका पर्यटकीय क्षेत्र सुनसान

बराह ताल, बेलढुंगा, गाजाको दह, घुम्टे, दिदीबहिनी झरना, सोलेडाँडालगायत दर्जनौँ पर्यटकीय क्षेत्र सुनासन छन्। धेरै पर्यटक पुग्ने ढोरपाटन बराह मन्दिर र सिकार आरक्ष क्षेत्रमा पनि यो बेला पर्यटकको सङ्ख्या निकै कम भएको छ।

ढोरपाटन- बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन्। बर्खाका कारण ठाउँ-ठाउँमा बाढीपहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन्।

बराह ताल, बेलढुंगा, गाजाको दह, घुम्टे, दिदीबहिनी झरना, सोलेडाँडालगायत दर्जनौँ पर्यटकीय क्षेत्र सुनासन छन्। धेरै पर्यटक पुग्ने ढोरपाटन बराह मन्दिर र सिकार आरक्ष क्षेत्रमा पनि यो बेला पर्यटकको सङ्ख्या निकै कम भएको छ।

गतवर्ष योबेला पर्यटकीयस्थलमा चहलपहल बढ्न थालेको थियो। अहिले वर्षा नरोकिएको हुँदा सडक खुल्न सकेका छैनन्। सडक खुल्न नसक्दा घरबास (होमस्टे) पनि सञ्चालन हुन सकेका छैनन्।

घरबासमा पाहुन पुग्न नसक्दा स्थानीय उत्पादनले बजारसमेत पाउन सकेका छैनन्। जिल्ला सदरमुकाम बागलुङ बजारनजिकै रहेको कालिका मन्दिर, पञ्चकोट र शालग्राम सङ्ग्रहालयमा पनि पर्यटकको सङ्ख्या घटेको छ। यस वर्ष लामो झरीले गर्दा आधा असोज बितिसक्दा पनि सडक खुल्न सकेका छैनन्।

गतवर्ष यतिबेला सोलेडाँडामा पर्यटकको चहलपहल बढेको भए पनि अहिले सुनसान रहेको तमानखोला गाउँपालिका-३ का पूर्ण बुढामगरले बताए। असोज लागिसक्दा पनि वर्षा नरोकिँदा सडक खुलाउन नसकेको उनको भनाइ छ। सडक बन्द हुँदा घुम्न आएका पर्यटक बीच बाटोबाटै फर्किने गरेको बुढामगर बताउँछन्।

बुढामगरले भने, 'असोजको पहिलो सातातिर वर्षा रोकिएको थियो, अहिले फेरि वर्षा हुन थालेको छ, बर्खाले गर्दा बाटो धेरै ठाउँ बिग्रिएको छ, पर्यटक सजिलै घुम्ने ठाउँमा पुग्न सकेका छैनन्, सोलडाँडामा यो बेला पोहोर परार साल निकै धेरै मान्छे आउँथे, तर अहिले आएका छैनन्, आएकाहरु पहिरोले सडक पुरिएपछि फर्किएर जान्छन्, अब कात्तिक लागेपछि मात्रै बाटो खुल्छ होला, त्यसपछि बल्ल पर्यटकको लर्को लाग्छ।'

यो याम ढोरपाटन घुम्नका लागि निकै उपयुक्त समय मानिन्छ तर सडकको दुरवस्थाका कारण निकै कम सङ्ख्यामा पर्यटक आएको ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन अदैले बताए। अघिल्लो महिनासम्म सयौँ पर्यटक ढोरपाटन पुग्ने गरेको भन्दै असोज लागेपछि धेरै ठाउँमा सडक बिग्रिँदा यात्रा कठिन हुँदा पर्यटक घटेको उनको भनाइ छ।

बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडकमा यात्रा गर्दा पर्यटकले सास्ती खेप्नुपरेको अध्यक्ष अदै बताउँछन्। यो सडक स्तरोन्नति नभएसम्म हजारौँ पर्यटकले बर्सेनि समस्या बेहोर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

'धेरै पर्यटकको रोजाइमा अहिले ढोरपाटन परेको छ, ढोरपाटन आउने बुकीपाटन पनि जान चाहन्छन्, तर बुर्तिबाङबाट यहाँसम्म आउने सडकको अवस्था खराब हुँदा पर्यटक चाहेर पनि आउन सकेका छैनन्', अध्यक्ष अदैले भने, 'अघिल्लो महिनासम्म पर्यटकको सङ्ख्या राम्रो थियो, पछिल्लो झरीले गर्दा ह्वात्तै घट्यो, दसैँ नजिकिँदैछ, यो बेला हजारौँको सङ्ख्यामा पर्यटक आउँथे, तर सडकका कारण आउन सकेका छैनन्, वर्षा रोकिएर सडक सुधार भयो भने आउनेछन्।'

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले वर्षा रोकिएपछि पर्यटकीय क्षेत्रमा पुग्नेसहित ग्रामीण सडक खुलाउने बताए। यस वर्षको वर्षाले मध्यपहाडी लोकमार्गसहित ग्रामीण सडकमा ठूलो क्षति पुर्‍याएको हुँदा खुलाउन केही समय लाग्ने उनको भनाइ छ। वर्षा रोकिए दसैँअगावै सबै अवरुद्ध सडक खुलाउने गरी तयारी गरिएको भण्डारीले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, असोज १६ २०८११३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend