मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

वायुसेवा निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

बुधबार, असोज ९ २०८१
वायुसेवा निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ।

निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो। निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार चाडपर्वपश्चात् पनि विराटनगर, पोखरा र नेपालगञ्ज कार्यालयबाट टिकट वितरण गर्नेगरी व्यवस्था मिलाउने छ। उक्त व्यवस्थापनका लागि निगमका  कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिएका छन्।

‘आगामी बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर रहने गरी नेपाल वायुसेवा निगमका उडानहरुबाट यात्रा गर्न सहज रुपमा टिकट प्राप्त होस् भनी निगमका विराटनगर, पोखरा र नेपालगञ्ज स्थित कार्यालयहरुबाट बिक्री गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रुपमा लागु गर्न निर्देशन दिइएको छ’, विज्ञप्तिमा भनिएको छ।

साथै, यात्रुहरुले आफ्नो मोबाइलबाट वा निगमको ‘वेबसाइट’बाट  ‘अनलाइन टिकट’लिन सकिने व्यवस्था रहेकामा स्थानीय ठाउँबाट समेत सेवा दिँदा सेवाग्राहीले अझ प्रभावकारी ढंगले टिकेटिङको सेवा लिने निगमको विश्वास छ। रासस


प्रकाशित : बुधबार, असोज ९ २०८११७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend