मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

रसुवाको हिमाली क्षेत्रमा बढ्दै छ पर्यटकको आकर्षण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ४ २०८१
रसुवाको हिमाली क्षेत्रमा बढ्दै छ पर्यटकको आकर्षण

तामाङ सम्पदा मार्गबाहेक अन्य हिमाली पदयात्राको भूभाग लाङ्टाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा पर्ने भएकाले निकुञ्जको नीति नियमको पूर्ण पालना गर्नुपर्दछ।

रसुवा- जिल्लास्थित हिमाली दृष्य अवलोकनका लागि आन्तरिक एवं बाह्रय पर्यटकको आगमन वृद्धि हुँदै गएको छ।

काठमाडौं उत्तर रसुवा जिल्लास्थित हिमाली भेगमा दैनिक २०-२५  बाह्य पर्यटकको आगमन हुन थालेको र यो सङ्ख्या वृद्धि हुँदै गएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।

यसरी पर्यटन बढ्न थालेसँगै हिमाली भेगका स्थानीय  पर्यटन तथा होटल व्यवसायीले आवश्यक खाद्यन्न  ढुवानीको काम सुरू गर्नुको साथै होटल तथा लजको सुदृढीकरण गर्न थालेका छन्।
 
मध्यवर्षाको बावजुद् गत साउन-भदौ महिनामा करिब दस हजार ५०० आन्तरिक एवं बाह्य पर्यटकको जिल्लामा आगमन भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत बरालले जानकारी दिए। तीमध्ये  १० हजार चार सय ४० आन्तरिक तथा तीनसय ६० बाह्य पर्यटकभएको निकुन्जले जनाएको छ।  
 
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार अघिल्ला वर्षहरूमा जस्तै गत भदौ महिनामा पनि धार्मिक तथा सांस्कृतिक महत्वको पवित्रस्थलका रुपमा परिचित ‘गोसाइँकुण्ड’ मेला भर्न जाने तीर्थयात्रीका कारण आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो।

यसरी उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा ठूलो मेला लाग्ने तथा सोही अवसरमा  स्नान तथा पूजाआजा गर्ने हजारौँ भक्तजन निलाद्री पर्वतसम्म पुग्नेगरेका कारण वर्षायाम भए पनि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको पाइन्छ।  
 
निलाद्री पर्वतमा भगवान शिव विराजमान भएको पवित्र तीर्थ गोसाइँकुण्ड, हिमालयकी पुत्री पार्वती माता विराजमान भएको गतलाङ क्षेत्र, लाङ्टाङ एवं गणेश हिमाल, ऐतिहासिक रसुवागढी, उकाली, ओराली झर्ना, पाहाड, तामाङ सम्पदा मार्ग अन्तरगत स्थानीय संस्कृतिमा आधारित तामाङ वेषभूषा, नाचगान , हिमाली वनस्पति, पार्टी-भञ्ज्याङ -चौतारी, चीज उत्पादन केन्द्र, देशकै नमूनाका रूपमा निर्मित २२ मेगावाट क्षमताको  चिलिमे जलविद्युत् गृहलगायतका महत्वपूर्ण सम्पदाको अवलोकन गर्न सकिने होटल व्यवसायी संघका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए।  
 
यसैगरी तामाङ सम्पदा मार्गअन्तरगत गोल्जुङ्, गतलाङ, नाकथली, बृद्विम समेतका क्षेत्रमा पाइने स्थानीय परिकारका खानाले समेत आगन्तुक पर्यटक लोभिने गरेको अध्यक्ष गजुरेलले जानकारी दिए।

हिमाली प्रकृतिमा रमाउन काठमाडौँको गोंँगबु-बालाजुदेखि टोखा, छहरे, थान्सिङ, ढिकुरे, गँगटे, बटृार, ढुङ्ग्रे, बेत्रावती, कालिकास्थान हुँदै सदरमुकाम धुञ्चेसम्मको सडकमार्ग राम्रो भएकाले जम्मा पाँच घण्टामा सवारी साधनबाट सदरमुकामसम्म पुग्न सकिन्छ।  
 
रसुवाको हिमाली पदयात्रामा जादाँ हुनसक्ने सम्भावित उशृङ्खल एवं आपाराधिक गतिविधिको अन्त्त गर्न बर्दीधारीसहित सादा पोसाकका प्रहरीलाई नियमित गस्तीमा खटाइने गरेकाले निर्धक्क भई यात्रा गर्न र कुनै समस्या आइपरे जिल्ला प्रशासन कार्यालय वा स्थानीय सुरक्षा निकायमा तत्काल जानकारी गराइ दिनुहुन सम्बद्ध सबैसँग अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि घिमिरेले जानकारी दिए।
 
तामाङ सम्पदा मार्गबाहेक अन्य हिमाली पदयात्राको भूभाग लाङ्टाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा पर्ने भएकाले निकुञ्जको नीति नियमको पूर्ण पालना गरी हिमाली जैविक विविधताको संरक्षणमा यात्रुहरूबाट सहयोग मिल्नेमा निकुञ्ज परिवार आशावादी रहेको निकुन्जका वरिष्ठ संरक्षण अधिकृत बरालले बताए। रासस


प्रकाशित : शुक्रबार, असोज ४ २०८११६:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend