मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल सुनसान

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ४ २०८१
पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल सुनसान

महाकाली पुल योजना कार्यालयले महाकाली नदीमा चार लेनको पक्की पुलसँगै पर्यटकका लागि चारवटा ताल पनि निर्माण गर्न लागेको छ। तालका समीप पाँच हजार बिरुवा पनि रोप्ने योजना छ।

कञ्चनपुर- पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्। यहाँको गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् तर गड्डाचौकी नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थलको भ्रमण नगरी काठमाडौं र पोखरातर्फ लाग्ने गरेका छन्। 

अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि सिधैँ काठमाडौं पोखरालगायत सहर घुम्न जाने गरेको बताए। 'अहिले विदेशी पर्यटक आउने सङ्ख्या बढेको छ', उनले भने, 'गत वर्षको तुलनामा यो वर्ष विदेशी पर्यटक आउनेक्रम बढेको छ।' 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटन विकासको सम्भावयुक्त क्षेत्र हो। सयौँको सङ्ख्यामा देखिने बाह्रसिङ्गाको झुण्ड र घाँसेमैदान यहाँ आउने पर्यटकको मुख्य आकर्षण हुन्।

यहाँ शुक्लाफाँटा मात्र नभई महाकालीपारिका दोधारा र चाँदनी गाउँलाई जोड्ने एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल पनि छ। धार्मिक महत्वका पर्यटकीयस्थल पनि छन्। बेदकोट र झिलीमिली तालसम्म सहज पहुँच नहुँदा यी क्षेत्र ओझेलमा परेका छन्। 

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले यहाँको पर्यटनको विकासका लागि  राज्य स्तरबाट लगानी हुन नसकेको बताए। 'यहाँ पर्यटनको प्रचुर सम्भावना छ तर पूर्वाधार र प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा छ', उनले भने। 

कञ्चनपुरका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले पूर्वाधार र सुविधा नहुँदा यहाँ आएका पर्यटक अन्यत्र बासबस्ने गरेका बताए। 'प्रचारप्रसार र पूर्वाधार अभाव नै यहाँ पर्यटक नबस्ने प्रमुख कारण हुन्', उनले भने, 'नाकामा पर्यटक सूचना केन्द्रसमेत सञ्चालनमा आउन सकेको छैन।' योसँगै हवाई यातायात पनि सञ्चालनमा आउन जरुरी रहेको उनले बताए।

त्यसैगरी यहाँ पर्यटकीय गन्तव्यको रूपमा महाकाली नदी किनार विकसित हुन थालेको छ। महाकाली पुल योजना कार्यालयले महाकाली नदीमा चार लेनको पक्की पुलसँगै पर्यटकका लागि चारवटा ताल पनि निर्माण गर्न लागेको छ। तालका समीप पाँच हजार बिरुवा पनि रोप्ने योजना छ। रासस


प्रकाशित : शुक्रबार, असोज ४ २०८१०९:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend