मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

६ करोड ८२ लाख खर्चेर पोखरामा 'इन्टरनेशनल बलुन फेस्टिभल' आयोजना गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ३ २०८१
६ करोड ८२ लाख खर्चेर पोखरामा 'इन्टरनेशनल बलुन फेस्टिभल' आयोजना गरिँदै

फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुने जनाइएको छ। फेस्टिभल आयोजना गर्नका लागि कुल ६ करोड ८२ लाख खर्च लाग्ने अनुमान गरिएको छ।

काठमाडौं- नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी क्रिष्टमस र अंग्रेजी नयाँ वर्षको अवसरमा 'इन्टरनेशनल बलुन फेस्टिभल' आयोजना हुने भएको छ।

बलुन नेपाल प्रालिको आयोजनामा डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म पोखराको लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रफलमा फेस्टिभल आयोजना हुनेछ। यसका लागि आवश्यक तयारी भइरहेको बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले बताएका छन्। 

फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरुको अपेक्षा रहेको उनले जनाएका छन्। 'यसमार्फत पोखरालाई साहासिक पर्यटनको नयाँ गन्तव्यका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ। कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुने विश्वास लिएका छौँ' उनले भने।

फेस्टिभलमा नेपालसहित करिब ३० देशका व्यावसायिक कम्पनीलाई सहभागिता गराइने जनाइएको छ। फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरुले हट एयर बेलुनको उडान गर्नेछन्। एक सातासम्म चल्ने महोत्सवमा कुल करिब पाँच सय व्यावसायिक उडान हुनेछन्। जसमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ। महोत्सवमा करिब तीन सय वटा गैर व्यावसायिक उडान हुने छ।

फेस्टिभलका अवसरमा पोखरामा मिनि बलुन सो पनि हुनेछ। उक्त अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ। सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुने जनाइएको छ। फेस्टिभल आयोजना गर्नका लागि कुल ६ करोड ८२ लाख खर्च लाग्ने अनुमान गरिएको छ।

विसं २०७३ सालमा स्थापना भएको बलुन नेपाल प्रालिले २०७५ सालदेखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको जनाएको छ। कम्पनीले गत फेब्रुअरीमा थाइल्याण्डमा सम्पनन 'इन्टरनेशनल बलुन फियस्ता, २०२४' मा सहभागिता जनाइसकेको छ।


प्रकाशित : बिहीबार , असोज ३ २०८११८:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend