मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

ऐनापहरा झरनामा बढ्दै छ पर्यटकको आकर्षण, व्यवस्थित गर्न १० करोड रुपैयाँ आवश्यक

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ३० २०८१
ऐनापहरा झरनामा बढ्दै छ पर्यटकको आकर्षण, व्यवस्थित गर्न १० करोड रुपैयाँ आवश्यक

झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ।

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ। पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ। 

झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लागेको स्थानीय पवन नेपालीले बताए। पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत गन्तव्यस्थल बनेको उनले बताए। नेपालीले भने, 'गर्मी मौसममा यात्रा गर्नेलाई विश्रामस्थलका रूपमा यो ठाउँ विकास भइरहेको छ । अन्य दिनको तुलनामा बिदामा घुइँचो हुन्छ।'

राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिपरेको बताए। चुमानका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुंगामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ। यहाँ दैनिक तीन सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको अध्यक्ष चुमान बताउँछन्।

उनले भने, 'यसै रहेका ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो।' झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ। 

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानले बताए। ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा १ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। 

गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ। सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ। गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ। 

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ। ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ।

यस ठाउँलाई व्यवस्थित गर्न डीपीआरअनुसार १० करोड रुपैयाँ बजेट आवश्यक पर्छ। डीपीआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गर्ने उल्लेख छ। रासस


प्रकाशित : आइतबार, भदौ ३० २०८११०:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend