शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

कालीगण्डकी करिडोर : भत्काउनुपर्ने घरटहराका धनीलाई क्षतिपूर्ति वितरण सुरु

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ३० २०८१
कालीगण्डकी करिडोर : भत्काउनुपर्ने घरटहराका धनीलाई क्षतिपूर्ति वितरण सुरु

सडक फराकिलो, वर्षाको पानी निकासको व्यवस्थाका साथै र पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मालढुंगाबाट फर्सेसम्मको पाँच किलोमिटर खण्ड कालोपत्र गर्न ‘सबबेस’ बिछ्याएको छ।

म्याग्दी- म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुंगा सडकका घरटहरा बापतको क्षतिपूर्ति रकम वितरण प्रारम्भ भएको छ।

तेह्र किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति दिएर घरटहरा भत्काउन थालिएको हो। बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद चापागाईँले ११ मिटर फराकिलो सडक बनाउन ६३ वटा घरटहराका धनीलाई क्षतिपूर्ति वितरण सुरु भएको जानकारी दिए।

जलजला गाउँपालिकाको ८, ७ र ४ नम्बर वडाको फर्से, लस्ती, केराबारी, मिलनचोक, मोहनचोक, लामाखेत क्षेत्रको घरटहरा भत्काउन लागिएको हो। क्षतिपूर्तिबापत ७९ लाख ७३ हजार राज्यकोषबाट खर्च हुने उनले जानकारी दिए। 

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका-१ मालढुंगाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ। कालोपत्र गर्न ५२ करोड ८६ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको छ। 

सडक फराकिलो, वर्षाको पानी निकासको व्यवस्थाका साथै र पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मालढुंगाबाट फर्सेसम्मको पाँच किलोमिटर खण्ड कालोपत्र गर्न ‘सबबेस’ बिछ्याएको छ।

विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा ‘कल्भर्ट’  निर्माण गरिएको छ। फर्सेबाट लामाखेत खण्डमा बाटो चौडा गर्ने, नाली र पर्खाल निर्माणको काम भइरहेको छ।  

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुंगा-बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो। मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो। रासस


प्रकाशित : आइतबार, भदौ ३० २०८१०९:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend