मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

निगमको वाइडबडी इटालीबाट ल्याउने भाका सरेको सर्‍यै, फेरि देखियो अर्को समस्या

बुधबार, भदौ २६ २०८१
निगमको वाइडबडी इटालीबाट ल्याउने भाका सरेको सर्‍यै, फेरि देखियो अर्को समस्या

तोकिएको समयमा जहाज नआउँदा निगमलाई ७६ करोड रुपैयाँभन्दा बढी घाटा भइसकेको छ। अर्को वाइडबडी पनि दुई सातादेखि इटाली नै लगेर राखिएको छ।

काठमाडौं- नेपाल वायुसेवा निगमको वाइडबडी ए-३३० कलसाइन 'नाइन एन- एलवाई' जहाज नेपाल ल्याउने भाका सरेको सर्‍यै भइरहेको छ। हिजो मंगलबार १० तारिखमा इटालीबाट जहाज सी-चेकको काम सम्पन्न गरी नेपाल ल्याइने बताइएको थियो। तर पुन: समस्या देखिएपछि जहाज रोकिएको छ। 

पछिल्लो पटक जहाजको नोज ह्वीलमा भाइब्रेसनको समस्या देखिएकाले इटालीमा नै रोकिएको बताइएको छ। जहाज नेपाल ल्याउनका लागि ट्याक्सी वेमा गुड्दै गर्दा नोज ह्वील भाइब्रसेन हुने समस्या देखिपछि पुन: उडान रोकिएको नेपाल वायुसेवा निगम स्रोतले बताएको छ।

जहाज ३० दिनमा सी-चेक सम्पन्न गरी दिने सर्तमा इटाली लगिएको थियो। कम्पनीको लापरबाहीका कारण ८१ दिनमा काठमाडौं आउन लागेको जहाज फेरि इटालीमै रोकिएको छ।

वाइडबडी सी-चेकको जिम्मा इटालीको एटिटेक कम्पनीले पाएको थियो। सेटिङमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त कम्पनीलाई सी-चेकको जिम्मा दिएका थिए।

काठमाडौंबाट इटाली लैजाँदासम्म नोज ह्वीलमा कुनै समस्या थिएन। तर कम्पनीको लापरबाहीका कारण समस्या थपिएको छ। अहिले नोज ह्वील भाइब्रेसनको समस्या देखिएको हो। 

निगम प्रवक्ता रमेश पौडेलले जहाजमा नोज ह्वील भाइब्रसेन समस्या देखिएका कारण १० तारिखमा नेपाल आउन नसकेको र आज बुधबार नै सबै काम सकेर भोलि बिहीबारसम्म नेपाल ल्याउने तयारी भएकोबारे आफूले सूचना पाएको बताए।

जहाज ३० दिनमा सी-चेक सम्पन्न गर्ने सर्तमा जुन २२ मा नेपालबाट दुबई हुँदै इटाली लगिएको थियो। हतार-हतारमा कानूनी प्रक्रिया नै पूरा नगरी जहाज इटाली लगिएको थियो। जसका कारण निगम कार्यकारी अध्यक्ष अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले एकाउन्टेबल म्यानेजर पदमा रहेर काम गर्नबाट निलम्बन गरेको थियो।

३० दिनमा जहाज नआएपछि निगम कार्यकारी अध्यक्ष अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमक्ष अगस्ट १५ भित्र जहाज सी-चेक सम्पन्न भइ नेपाल आउने बताएका थिए। 

उक्त समयमा पनि जहाज नआएपछि अधिकारीले मन्त्रीसमक्ष तथा प्रतिनिधिसभामा विभिन्न समितिमा अगस्ट २५ मा जहाज आउने बताउँदै आएका थिए। त्यस मितिमा पनि जहाज नआएपछि अधिकारीले सेप्टेम्बर १ भित्रै जहाज आउने भन्दै झुट्टो प्रचार गरिरहेका थिए। त्यसपछि निगम व्यवस्थापनले विज्ञप्ति नै जारी गरेर जहाज सेप्टेम्बर ७ मा इटालीबाट हिँडने र ८ तारिखमा नेपाल आउने बताएको थियो। त्यसपछि पनि १० तारिखभित्र आउने भाका सारिएको थियो। जुन पूरा हुन सकेन। 

तोकिएको समयमा जहाज नआउँदा निगमलाई ७६ करोड रुपैयाँभन्दा बढी घाटा भइसकेको छ। अर्को वाइडबडी पनि दुई सातादेखि इटाली नै लगेर राखिएको छ। जहाज नेपाल आउने विषयमा अधिकारीले हरेक साता यो दिन आउँछ भन्दै झुटको प्रचार गरिरहेका छन्।


प्रकाशित : बुधबार, भदौ २६ २०८११८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend