मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पर्यटकीय मौसमको पखाईमा सौराहाका पर्यटन व्यवसायी

बुधबार, भदौ २६ २०८१
पर्यटकीय मौसमको पखाईमा सौराहाका पर्यटन व्यवसायी

सौराहामा एक सय ५० भन्दा बढी होटल रहेका छन्। ती होटलमा ६ हजार पाँचसय जना अट्ने क्षमता रहेको छ।

चितवन- सौराहाका होटल भिष्टाका सञ्चालक रमेश सिलवाल आफ्नो होटलको रंगरोगन र सरसफाइमा व्यस्त छन्। अबको एक-दुई दिनमा काम सकेर पर्यटकको पर्खाइमा लाग्ने उनको योजना छ।

कोठाभित्रको रंगरोगनको काम सक्ने तयारीमा रहेका सिलवालले भने, 'रंगरोगनको काम सकेर टायलमा पुटिन दल्ने काम सुरु गर्दैछौँ, एक दुई दिनपछि त पर्यटक बोलाउनु पर्‍यो नि।'

बर्सातको समयमा सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या निकै कम हुने गर्दछ। केही वर्षअघिसम्म सौराहाका होटल व्यवसायीले मजदुर कर्मचारीलाई यो समयमा बिदा नै दिने गर्दथे। सिलवालको भनाइमा आजभोलि थोरै पर्यटक भए पनि मजदुर कर्मचारी होटलमा रहने गर्दछन्।

जंगल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिबेला होटलको सरसफाइ, रंगरोगन, मर्मतसम्भारमा नै व्यस्त छन्। उनले भने, 'होटललाई राम्रो बनाउने काममा जुटिरहेको छु।'

असोज लागेपछि पर्यटकको आगमन बढ्ने उनको अनुमान छ। क्षेत्रीय होटल संघका पूर्वअध्यक्षसमेत रहेका घिमिरेको भनाइमा वर्षा घटेर बाटो राम्रो भएमा असोज पहिलो साताबाट पर्यटकको आगमन बढ्दै जाने छ।

आफूले होटलको मर्मतसम्भारका सबै काम यो महिनाभित्रमा सक्ने तयारीका साथ काम भइरहेको उनको भनाइ छ। घिमिरेले भने, 'अबका केही दिनमा हाम्रो बगैँचामा ढकमक्क फूल देख्न सक्नुहुन्छ।' पर्यटकलाई कसरी आकर्षण गर्ने भन्ने तयारीका साथ व्यवसायी जुटेका छन्।

होटेल सेभेन लिमिटेडमा भने दुई सातादेखि पर्यटकको आगमन बढ्न थालिसकेको छ। होटलका प्रबन्ध निर्देशक सन्तोष पाठकले भने, 'हाम्रोमा दुई सातादेखि पर्यटकको राम्रो आगमन हुन थालिसकेको छ।' बर्सातको समयमा पर्यटक कम हुँदा रंगरोगन र मर्मतसम्भारको काम गरिएको पाठकले बताए।

होटलको व्यवस्थापन पाठकसहितको समूहले लिएपछि पाँचतारे बनाउनेगरी काम थालिएको छ। उनको भनाइमा ९८ कोठा थप गरेर एक हजार क्षमताका दुई हलसहितका संरचना बनाउने तयारी थालिएको छ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसनका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका ८० रेष्टुरेन्ट मर्मतसम्भारको काम सकेर पर्यटकको पर्खाइमा रहेका छन्। झन्डै ३० हात्तीको व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्षसमेत रहेका खतिवडाले सौराहाका सबै पर्यटन व्यवसायी नयाँ पर्यटकीय मौसममा पर्यटकको पर्खाइमा रहेको बताए।

क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले बर्सातसँगै बिग्रिएको बाटोका कारण यो वर्षातमा पर्यटकको आगमनमा निकै कमी आएको बताए। पर्यटनसँग सम्बन्धित व्यवसायी अबको मौसममा पर्यटकको राम्रो आगमन हुने अपेक्षासहित तयारीमा जुटेको उनले बताए।

सौराहामा एक सय ५० भन्दा बढी होटल रहेका छन्। ती होटलमा ६ हजार पाँचसय जना अट्ने क्षमता रहेको छ। जंगल सफारीका लागि प्रसिद्धि पाएको चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा रहेको छ। थपलियाले भने, 'स्वदेशी र विदेशी पर्यटक अबको मौसममा पहिलेभन्दा बढ्ने हाम्रो अपेक्षा छ।'

वर्षायाममा चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने गर्दछ। असोज लागेसँगै निकुञ्जभित्रका पर्यटकीय सडक मर्मत गरेर जंगल सफारी खुल्ला हुने गर्दछ। चाडपर्वसँगै स्वदेशी पर्यटकको चहलपहल पनि पर्यटकीय क्षेत्रमा हुने गर्दछन्। रासस


प्रकाशित : बुधबार, भदौ २६ २०८११२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend