सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

लमजुङको सुपरदोर्दी ‘ख’ आयोजनाको 'ब्रेक थ्रु'

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २७ २०७८
लमजुङको सुपरदोर्दी ‘ख’ आयोजनाको 'ब्रेक थ्रु'

आयोजनाको विद्युतगृहको सिभिल संरचनाको निर्माण भई उपकरण जडान  भइरहेको आयोजनाले जनाएको छ। 

लमजुङ- पहाडी जिल्ला लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ (ब्रेक थ्रु) छेडिएको छ। दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रू गरेको हो। 

पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गर्दै आएको यस आयोजनाको मुख्य सुरुङ भूकम्प, नाकाबन्दी, लकडाउनलगायत प्रभावका बाबजुद ब्रेक थु्र गर्न सफल भएको हो। केही दिनअघि आयोजनाको मुख्य सुरुङको सफलतापूर्वक बे्रक थु्र गरेसँगै यतिबेला त्यहाँ ढलानकार्य भइरहेको कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए। उनले भने, 'हामीले सुरुङ छेड्ने काम पूरा गरेका छौँ, यो ठूलो उपलब्धि हो, अब ढलानकार्य अघि बढिसकेकाले आगामी चार महिनाभित्रमा ढलानसमेत सम्पन्न गर्ने लक्ष्य छ।' 

यस आयोजनाले आगामी सात-आठ महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाका प्रबन्ध निर्देशक रायमाझीको भनाइ छ। उनका अनुसार यस आयोजनाको निर्माण हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ। आयोजनाको विद्युत्गृहको सिभिल संरचनाको निर्माण भई उपकरण जडान  भइरहेको आयोजनाले जनाएको छ। 

त्यस्तै गत असारमा दोर्दीखोलामा आएको बाढीपहिराले क्षति पुर्‍याएको आयोजनाको बाँधस्थल क्षेत्रको पुनःनिर्माण भइरहेको छ। एक हजार १०० मिटर पेनस्टक पाइप जडान भइरहेको छ। आयोजनाका प्रबन्ध निर्देशक रायमाझीले भने, 'हामीले सबै निर्माण सम्पन्न गर्दै यही पुसभित्रमा बिजुली उत्पादन गर्ने भने पनि विविध कारणले आगामी असारभित्रमा बिजुली उत्पादन गर्ने कार्यतालिका छ।'

कूल आठ अर्ब ८० करोड रूपैयाँको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ। इलेक्ट्रोमेकानिकल, टनेल र पावरहाउसभित्र भवन बनाउने काम भइरहेको छ।

आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो। आयोजनामा सबै गरेर ५०० कर्मचारी छन्। विसं २०७५ मा निर्माण सम्पन्न नभएपछि निर्माणअवधि थप गर्दै विसं २०७७ असारसम्मको सम्झौता गरेको थियो। सो अवधिमा समेत निर्माणमा ढिलाइ भएपछि गत विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो। सो समयमा पनि निर्माण नसकिएपछि यही पुस महिनाभित्र बिजुली उत्पादन गर्ने आयोजनाले जनाएको थियो। 

उनका अनुसार आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन्। ७० प्रतिशत ऋण लगानी र बाँकी  प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ। आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र २७ करोड रूपैयाँ लगानी छ। आयोजनाले सुक्खायाममा  आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पिपिए) सम्झौता भएको छ। पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रसहेड ६४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, पुस २७ २०७८०५:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend