बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

‘स्टप लस हन्टिङ’मा हो सेयर बजार? उच्च बिन्दुतर्फ बढ्छ या मोडिन्छ?

‘स्टप लस हन्टिङ’ पूरा हुनासाथ लिन सक्नेछ उचाइ

बुधबार, भदौ २६ २०८१
‘स्टप लस हन्टिङ’मा हो सेयर बजार? उच्च बिन्दुतर्फ बढ्छ या मोडिन्छ?

बढ्दो क्रमको बजारमा केही समय कमजोर अवस्था र ठूला बिक्रीहरू यसअघि पनि देखिएका थिए। जतिबेला बजार ध्वस्त हुने अनुमान र आतंक पनि फैलिन थालेको देखिन्छ। तर जब ‘स्टप लस ट्रिगर’ हुन्छ त्यसपछि ठूलो हरियो मैनबैत्तीले सबै घाटा पूर्ति हुन थाल्छ।

काठमाडौं- गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजारमा साउनभर उछाल देखियो। साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजारले भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा गति रोकिएको छ।

लगातार उच्च बिन्दुतर्फ लागेर केही समय वृद्धि रोकिएको सेयर बजार पुन: उचाइतर्फ नै लाग्ने अपेक्षा कमजोर भइरहँदा बजारको प्रवृत्ति बुझ्नुपर्ने विश्लेषकहरू बताउँछन्। बजारमा देखिएको ‘बुलिस ट्रेन्ड’ बीच केही समय उतारचढाव हुनु स्वभाविक नै मान्नुपर्ने उनीहरूको तर्क छ। 

‘कछुवा गतिमा धिमा तर बलियो हुँदै बजार उचाइतर्फ बढेको भए सबैले नाफा बुक गर्ने अवसर पाउँथे, आफ्नै गतिमा नभइ हुत्तिएको जसरी बजार बढ्दा अहिले केही समय रोकिएर कमजोर देखिनु स्वभाविक नै हो’ एक विश्लेषकले बताए। 

बजार अहिले ‘स्टप लस हन्टिङ’ को अवस्थामा देखिएकाले त्यो पूरा हुनासाथ पुन: उचाइतर्फ लाग्ने केही विश्लेषकहरूको तर्क छ। त्यसैले बजारमा खेलोफड्को गर्ने हरेकको आफ्नै शैली हुने भए पनि धैर्यता सबैभन्दा महत्वपूर्ण छ। 

‘स्टप लस’ लगानीकर्ताले आफ्नो नोक्सान सीमित गर्नका लागि उपयोग गर्ने विधि भए पनि यसलाई ठूला खेलाडीहरूले अवसरका रुपमा सिर्जना गर्दछन्। 

तपाईंले कुनै कम्पनीको सेयर घट्दो क्रममा घाटा लिनसक्ने अन्तिम बिन्दुमा बेचेको केही समयमा नै उछालतर्फ देखिएको अनुभव छ? पुँजी बजारमा धेरैका लागि यो आम विषयजस्तो हो तर यसको नदेखिने चक्र बेजोडको हुन्छ। 

सेयर बजारमा केही ठूला संगठित लगानीकर्ताहरू ‘शिकारी’का रुपमा हुन्छन्। जसमा साना खुद्रा लगानीकर्ताहरू ‘शिकार’ हुन्छन्। यी ठूला लगानीकर्ताहरू नाफा कमाउनका लागि साना लगानीकर्ताको ‘स्टप लस’ लाई निशाना बनाउँछन्। यो एउटा जंगलमा जस्तो हो, जहाँ शिकारी ‘स्टप लस’ को शिकार गरेर स्थितिको फाइदा उठाउने लक्ष्य राख्छन्। 

विचार गरौँ कि कुनै कम्पनीको सेयर एउटा निश्चित सपोर्ट बिन्दुमा ट्रेड भइरहेको छ। जहाँ केही लगानीकर्ताहरू आफ्नो घाटा थाम्न सकिने अन्तिम बिन्दु ‘स्टप लस’ लाई सपोर्ट बिन्दुको ठीक तल सेट गर्छन्। बजार अचानक घट्न सक्छ र स्टप लसमा पुग्नुअघि नै पुन: उचाइमा पनि जान सक्छ। त्यसमा ठूला खेलाडीहरूले चाल्ने चालले धेरै अर्थ राख्छ। 

जस्तो कि उदाहरणका लागि कुनै कम्पनीको सेयर २ सय रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ भने त्यसमा मनोवैज्ञानिक स्टप लस बिन्दु १ सय ९० मानिएको हुन सक्छ। त्यसमा बढ्दो बजारमा करेक्सन आइरहँदा ठूला खेलाडीले आक्रामक रुपमा बिक्रीका लागि जाने गरिरहेका हुन्छन्। यहाँ साना खेलाडीले धान्न सक्ने अवस्था नदेखेर ‘स्टप लस’ गर्न थाल्छन्। एकपटक जब पर्याप्त रुपमा स्टप लस हिट हुन्छ तब ठूला खेलाडीहरू पुन: सेयर उठाउन थाल्छन्। जसले उक्त कम्पनीको मूल्य उचाइतर्फ लाग्न थाल्छ। 

स्टप लस एउटा सुरक्षा जालोजस्तो हुने भए पनि नेपालको जस्तो सेयर बजारका लागि यो साना लगानीकर्ताका लागि पासोजस्तो हुन पुग्छ। बजारको व्यवहारका बारेमा राम्रो ज्ञान नहुनेहरू यसमा छिटै फस्छन्। 

जब लिक्विडिटी कम हुन्छ तब ठूला लगानीकर्ताहरू ज्यादा किन्ने अवसर पैदा गर्नका लागि स्टप लसको खोजीमा हुन्छन्। मूल्य तल धकेलेर स्टप लस ट्रिगर गर्छन्। ठूलो संख्यामा किनबेच गर्नेहरूका लागि एक रुपैयाँ तलमाथिले पनि ठूलो अर्थ राख्छ। त्यसैले साना लगानीकर्ता मनोवैज्ञानिक दबाब बिन्दुबाट जोगिन सक्नुपर्छ। 

अचानक हुने मूल्य परिवर्तनमा धेरैले धैर्यता नराख्दा बजारले अहिलेको उतारचढावको घट्दो स्थिति भोगिरहेको विश्लेषकहरूको तर्क छ। बजारको अवस्था बुझेर विश्लेषण गर्न सके स्टप लस हन्टिङको शिकारबाट बचिने उनीहरूको भनाइ छ। ठूला खेलाडीहरूले लिने रणनीति बुझ्नुका साथै आफ्नो छुट्टै बिन्दु सेट गर्न सके बहकाउमा पर्नु पर्दैन। 

जब बजारमा ठूलो संख्यामा स्टप अर्डर सक्रिय हुन्छ तब अत्याधिक अस्थिरता पनि देखिन थाल्छ। जसमा केहीले अवसरका रुपमा आफ्नो लगानीबारे निर्णय लिन्छन्। ठूलो उतारचढावमा केहीले धेरै घाटा नहोस् भन्ने अवस्था विचार गर्छन् भने केहीले ‘बाउन्स ब्याक’ हुने अवस्था हेरेर सक्दो तल्लो बिन्दुमा झारेर ठूलोमात्रामा खरिद गर्छन्। 

हुन पनि ट्रेडिङको दौरान कम्पनीहरूको सेयर मूल्यमा बढ्ने क्रम र घट्ने क्रम चलिरहन्छ। त्यस्तोमा बुल मार्केट कुनै सानो समयरेखामा समेटिन्छ भन्ने छैन। यसमा समयको एउटा चक्रभित्र उचाइतर्फ देखिएको मूल्यलाई विचार गर्नुपर्छ। बुल विस्तारित अवधिको हुन्छ। बुल मार्केट केही महिना या केही वर्षसम्मै पनि रहन सक्छ। 

बुल मार्केट लगानीकर्ताहरूको आशा, लगानीप्रतिको विश्वास र विस्तारित समयसम्मका लागि बलियो परिणामको अपेक्षा रहन्छ। बजारको प्रवृत्ति कहिले परिवर्तन हुन्छ भनेर यकीन भविष्यवाणी गर्न त सकिँदैन तर यसमा गणितीय अनुमान गर्न भने सकिन्छ। तर कहिलेकाहिँ देखिने मनोवैज्ञानिक प्रभावका कारण पनि अनुमानको ठूलो भूमिकाले साथ नदिन पनि सक्छ।  

कुनै समय माथि चढिरहेको मूल्य केही दिन तल झर्न पनि सक्छ। त्यस्तोमा बजारको प्रवृत्ति हेरेर अतालिनु भने हुँदैन। बुल मार्केटको समयमा पनि केही दिन वृद्धि रोकिने र केही दिन तल झर्ने हुन सक्छ। त्यसमा ठूला संगठित लगानीकर्ताहरूले खेल्ने ठाउँसमेत रहन्छ। यसैले आफूले समग्र बजारको लक्ष्यमा होइन आफ्नै लक्ष्य र योजनामा विचार गर्नुपर्ने हुन्छ।

अहिले बजारले अपेक्षाकृत वृद्धिमा जान धरमर गरिरहेको देखिन्छ। नयाँ बिन्दुतर्फ लागेर धरमर भएको बजारमा अब किन्नेहरू आत्मविश्वास बढेर आश्वस्त हुन्छन् या बेच्नेहरू हाबी हुन्छन् हेर्न बाँकी छ। बजार बुलकै अवस्थामा रहने हुँदा लगानीकर्ता आत्तिने र मात्तिने अवस्था आउन नहुने विश्लेषकहरू बताउँछन्। 

बढ्दो क्रमको सेयर बजारमा केही समय कमजोर अवस्था र ठूला बिक्रीहरू यसअघि पनि देखिएका थिए। जतिबेला बजार ध्वस्त हुने अनुमान र आतंक पनि फैलिन थालेको देखिन्छ। तर जब ‘स्टप लस ट्रिगर’ हुन्छ त्यसपछि ठूलो हरियो मैनबैत्तीले सबै घाटा पूर्ति हुन थाल्छ। यसैले अन्तिम इनाम भने धैर्यता गर्नेहरूले नै पाउने विश्लेषकहरूको तर्क छ। 

(यो विश्लेषण सूचनामूलक जानकारीको उद्देश्यका लागिमात्र हो। यसलाई लगानीका लागि सल्लाहका रुपमा नलिइ वित्तीय सचेतना अपनाउनु होला।)


प्रकाशित : बुधबार, भदौ २६ २०८१०६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend