मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

मंगलबार, भदौ २५ २०८१
पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरे पनि नियमविपरीत दीपकराज जोशीलाई नियुक्त गरिएको भन्दै उनले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन्।

काठमाडौं- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिविरुद्ध पूर्वसीईओ डा. धनञ्जय रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। 

बोर्डका पूर्वसीईओ रेग्मीले बढी नम्बर ल्याउने र एक नम्बरमा सिफारिस भएको व्यक्तिलाई नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। 

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशीलाई नियुक्ति गरिएको छ। रेग्मीले आफू पहिलो नम्बरमा रहेकोले आफू नै नियुक्त हुनुपर्ने दाबी गरेका छन्। प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरे पनि नियमविपरीत जोशीलाई नियुक्त गरिएको भन्दै उनले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन्। उक्त रिटको पेसी बुधबारलाई तोकिएको छ।

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मीले नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, पर्यटन बोर्डका अध्यक्ष पर्यटन सचिव तथा बोर्ड सदस्यहरु इन्दु घिमिरे, मदन आचार्य, मिलन देवकोटा र प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई विपक्षी बनाएर रिट निवेदन दिएका छन्।

२० भदौमा बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकमा दीपकराज जोशी, धनञ्जय रेग्मी र ज्ञानेश्वरप्रसाद सिंह महतोलाई सीईओमा सिफारिस गरेको थियो।

रिट निवेदनमा भनिएको छ, ‘पर्यटन बोर्ड नियावली, २०५५ को विद्यायिकी काम नेपाल पर्यटन बोर्ड ऐन २०५३ को दफा २५ (१०) ले दिएको अधिकार प्रयोग गरी बनेको हो। सो को नियम ९ (१०) ले सिफारिस गरिएका व्यक्तिहरुमध्ये समितिले उपयुक्त देखेको व्यक्तिलाई बोर्डको कार्यकारी प्रमुखको पदमा नियुक्ति गर्ने छ भन्‍ने बाध्यात्मक व्यवस्था गरेको छ।'

१६ जना आवेदकमध्ये ३ जनालाई छनोट गर्दा अंकको आधार लिइएको छ भने त्यसैगरी ३ जनामध्ये १ जनालाई नियुक्ति गर्दासमेत सर्वोत्कृष्ट अंक नै आधार ग्रहण गरिनुपर्ने दाबी रिट निवेदकको छ।

रिट निवेदनमा विपक्षी नेपाल पर्यटन बोर्ड कार्यकारी समिति समेतका नाममा सर्वोच्च अदालत नियमावली २०७४ नियम ४९ बमोजिम अन्तरिम आदेशसमेत मागिएको छ।


प्रकाशित : मंगलबार, भदौ २५ २०८११४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend