शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

अगैया-नेपालगञ्ज हुलाकी सडकले आवतजावतमा सहज

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २१ २०८१
अगैया-नेपालगञ्ज हुलाकी सडकले आवतजावतमा सहज

हुलाकी सडक कालोपत्र भएपछि अटो, मोटरसाइकललगायत साना सवारीसाधनको आवतजावत बढेको स्थानीयको भनाइ छ।

नेपालगञ्ज- अगैया-नेपालगञ्ज जोड्ने हुलाकी सडकले स्थानीयलाई आवतजावतमा सहज भएको छ । कालोपत्र भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगञ्ज आवतजावत गर्न स्थानीयलाई  सहज भएको हो । 

'हामी पहिले कोहलपुर हुँदै नेपालगञ्ज जानुपर्ने थियो तर अहिले त्यो परिस्थिति बदलिएको छ', राप्तीसोनारी गाउँपालिका-३ का वडाध्यक्ष मीनकुमार चौधरीले भने ।
 
अहिले कृषि उपजका सामग्री किनबेच गर्न बेलैमा नेपालगञ्ज पुग्न सजिलो भएको उनले बताए। चौधरीले भने, 'ग्राभेल सडक हुँदा सवारीसाधन चल्दैनथे तर अहिले पाँच वटा बस सञ्चालनमा छन्।'

राप्तीसोनारी गाउँपालिकाका-३, ४, ५, ६ लगायतका वडाहुँदै हुलाकी सडक नेपालगञ्जबाट अगैया बजारसँग जोडिएको छ। सो सडकका कारण विनौना, धामपुर, चाचरफर्का, गोरधुइया, बैजापुर, नारायणपुर क्षेत्रका साना बजारसमेत चलायमान भएका छन्।  

वडाध्यक्ष चौधरीले सडकका कारण विकासको मूलप्रवाहीकरण भएकामा खुसी व्यक्त गर्दै वर्षाको समयमा हुने झन्झटको अन्त्य भएको बताए। हुलाकी सडक कालोपत्र भएपछि अटो, मोटरसाइकललगायत साना सवारीसाधनको आवतजावत बढेको स्थानीयको भनाइ छ। 

स्थानीय दिनेश रतगैयाले धुलाम्मे अवस्था सधैँका लागि अन्त्य भएको बताए। उनका अनुसार नेपालगञ्ज-अगैया जोड्न थारुमारेमा पक्की पुल निर्माण भएको छ। एउटा नालामा भने पुल निर्माण हुन बाँकी छ। 

राप्ती नदीमा निर्माणाधीन पुलले अगैया-नेपालगञ्जबाहेक नरैनापुरलाई समेत जोडेको छ। विसं २०७८ मा सुरु भएको उक्त सडक विसं २०८० मा सम्पन्न भएको थियो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले हुलाकी सडकलाई राजमार्गसँग जोडेर कुसुमबाट दाङ जोड्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए। रासस 


प्रकाशित : शुक्रबार, भदौ २१ २०८११४:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend