मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

शरद ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म १ सय ३२ जनाले लिए अनुमति

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २० २०८१
शरद ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म १ सय ३२ जनाले लिए अनुमति

यस सिजनका लागि हिमाल आरोहणबापत १ करोड ३० लाख ९६ हजार २ सय ६४ रुपैयाँ रोयल्टी सरकारी खातामा जम्मा भएको जनाइएको छ।

काठमाडौं- यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन्। 

पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी एक सय ३२ जनाले आरोहण अनुमति लिइसकेका छन्।

विभागको पर्वतारोहण शाखाको तथ्यांकअनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका एक सय २० जनाले अनुमति लिएका छन्। 

तीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति लिएका छन्। किलर माउन्टेनको रूपमा परिचित आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल पछिल्लो समय आरोहीको सर्वाधिक रोजाइमा पर्न थालेको छ। यसपटक पनि सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिइएको छ।

शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यही समयमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन्।

मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो। सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए। त्यसको दुई दिनपछि अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ। सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए।

यस्तै, पुथा हिउँचुली आरोहणका लागि एक आरोही समूहका सात र अन्नपूर्ण चौथोका लागि  एक आरोही समूहका पाँच जनाले अनुमति लिएको विभागले उल्लेख गरेको छ। यस सिजनका लागि हिमाल आरोहणबापत १ करोड ३० लाख ९६ हजार २ सय ६४ रुपैयाँ रोयल्टी सरकारी खातामा जम्मा भएको जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ २० २०८११०:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend