मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थलमा तीन महिनाछि पुनः उडान

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १९ २०८१
मौसममा सुधार आएसँगै सुकेटार विमानस्थलमा तीन महिनाछि पुनः उडान

बर्खायाम सुरु भएपछि जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो। तीन महिना लामो अवरोधपछि सुरु भएको उडानले स्थानीयमा केही आशा जागेको छ।

ताप्लेजुङ- प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुवात भएको छ।

नेपाल वायुसेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिए। उनले भने, 'मौसममा सुधार आएसँगै उडान गर्न सम्भव भएको हो।'

निगमले केही साताअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुनसकेको थिएन। बुधबारको उडानले मौसम पूर्ण रूपमा सुधार नभए पनि यात्रा सम्भव भएको देखाएको छ।

निगमले हाललाई हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ, यो तालिका आगामी भदौ ३० गतेसम्म बुधबारका दिन सञ्चालन हुनेछ। मौसम खुला रहेमा र यात्रुको चाप बढेमा निगमले उडान तालिका थप्ने तयारी गरिरहेको छ।

बर्खायाम सुरु भएपछि जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो। तीन महिना लामो अवरोधपछि सुरु भएको उडानले स्थानीयमा केही आशा जागेको छ।

यद्यपि, पहिलो उडानमा काठमाडौं-ताप्लेजुङ दुवैतर्फ विमानको पूर्ण क्षमतामा यात्रु थिएनन्। ताप्लेजुङको यात्रु सङ्ख्यालाई बढावा दिन आवश्यक प्रचार-प्रसार र नियमित उडानको आवश्यकता देखिएको छ। आगामी उडानका लागि यात्रीले सम्पर्क गर्न थालेको बताइएको छ।

उडान पुनः सञ्चालन भएसँगै दसैँ, तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसमको नजिकिँदो समयमा यात्रुलाई सुविधा हुने अपेक्षा गरिएको छ।

ताप्लेजुङ आउने पर्यटक र सर्वसाधारण यात्रीको सुविधाका लागि निगमले नियमित उडानलाई सुनिश्चित गर्नुपर्ने दबाब छ। जिल्लाका बासिन्दाले पर्यटकीय मौसममा विमान सेवा नियमित गर्न आग्रह गरेका छन्।

सुकेटार विमानस्थलमा हाल निगमको ट्वीनअटर जहाजले मात्र उडान गर्दै आएको छ। ताप्लेजुङ-काठमाडौं उडानका लागि हालको भाडादर प्रतिव्यक्ति ९ हजार ४ सय ७६ रुपैयाँ रहेको निगमले जनाएको छ। रासस


प्रकाशित : बुधबार, भदौ १९ २०८११०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend