मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १६ २०८१
ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे

'ढोरपाटन घुम्न आउने पर्यटकको सुविधाका लागि नयाँ घरबास बनाएर क्षमता बढाएका छौँ, पर्यटकको बसाइ लम्बाउन नयाँ गन्तव्य पहिचान गरेर प्रवर्द्धनमा जुटेका छौँ।'

म्याग्दी- पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे (घरबास) सुरु भएको छ। गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ढोरपाटनको पाखाथरमा घरबास सेवा सुरु र नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी पूर्वाधार तयार पारिएको हो। 

ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले ६ घरमा एक सय २० जना क्षमताको घरबास सुरु गर्नुका साथै पाखाथरबाट काडेकोडाँडा हुँदै किटेनीसम्म पदमार्ग निर्माण गरिएको जानकारी दिए।

'ढोरपाटन घुम्न आउने पर्यटकको सुविधाका लागि नयाँ घरबास बनाएर क्षमता बढाएका छौँ', उनले भने, 'पर्यटकको बसाइ लम्बाउन नयाँ गन्तव्य पहिचान गरेर प्रवर्द्धनमा जुटेका छौँ।' 

गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक नमूना होमस्टे कार्यक्रममार्फत १२ लाख रुपैयाँ बजेटमा घरबासको क्षमता विस्तार र पर्यटकीय पूर्वाधार तयार पारिएको हो। अप्ठ्यारो ठाउँमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउनुका साथै पर्यटकीयस्थलको जानकारी र सूचनामूलक काठको बोर्ड राखिएको सचिव पुनले बताए। 

काठैकाठले बनेका परम्परागत घरमा पाहुनाका लागि कोठा बनाइएका छन्। कोदो, फापरको ढिडो, आलु, च्याउ, टुसा, लोकल कुखुरा, खसीको मासु र दुग्धजन्य परिकारको स्वाद चाख्न पाइन्छ। ढोरपाटन सिकार आरक्षका अनुसार त्यहाँ रहेका २९ होटल र होमस्टेमा दैनिक तीन सय पाहुना बास बस्न सक्छन्। 

देशका विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकको चाप बढेपछि घरबासको क्षमता विस्तार गरिएको ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तीले बताए। पाखाथरमा सञ्चालन हुनुअघि ढोरपाटनमा दुईवटा होमस्टे थिए। पाखाथर होमस्टेमा बास बस्ने पर्यटकका लागि समुद्री सतहबाट काडेधुरी, थारसिङ, गुँरास पार्क र किटीनी धुरीमा हाइकिङ गर्न पाउनु आकर्षण हो। 

पाखाथरबाट तीन घण्टा उकालो पैदलयात्रापछि पुगिने चार हजार मिटर एक सय १० मिटर उचाइमा रहेको किटीनी धुरीबाट ढोरपाटन उपत्यका, सिस्ने, पुथा, गुर्जा, धवलागिरि, चुरेन, निलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ। फराकिलो फाँट, बुकी, गाईभैँसी, भेडा, घोडाको गोठ, वन्यजन्तु, पक्षी, वनजङ्गलको दृष्यावलोकन गर्न पाउनु पनि यहाँको आकर्षण हो। 

एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षले पूर्वीरुकुमको ६०, बागलुङको २६ र म्याग्दीको १४ प्रतिशत भूगोल ओगटेको छ। आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँच सय ७३ पर्यटकले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा १९ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको संरक्षण अधिकृत मण्डिप पङ्गेनीले बताए।

ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकको विवरण राख्ने र शुल्क लिने गरिन्छ। ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय रुपैयाँ, सार्क राष्ट्रकाले प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँ र अन्य देशकाले तीन हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्छ। रासस


प्रकाशित : आइतबार, भदौ १६ २०८११०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend