मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

ताराखसे पोखरी बन्यो पर्यटकीय गन्तव्य

बुधबार, भदौ ५ २०८१
ताराखसे पोखरी बन्यो पर्यटकीय गन्तव्य

परापूर्वकालमा ताराको टुक्रा खसेर जमिन भासिएर परेको खाल्डोमा पोखरी जमेपछि कुण्ड बनेको बताइन्छ। सो पोखरी सङ्लो रहने र कहिल्यै नसुक्ने स्थानीय बताउँछन्।

काभ्रेपलाञ्चोक- यहाँको रोशी गाउँपालिका-३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ।

स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका छन्। स्थानीय गंगाबहादुर तामाङका अनुसार ताराखसे पोखरी हेर्न र घुम्नकै लागि पर्यटक आउन थालेका हुन्। 

यहाँ आउने पर्यटकहरुले पोखरी छेवैमा रहेको देवीथानको दर्शन गर्ने गरेका छन्। सो ठाउँमा पुगेर स्नान गरी देवीको दर्शन गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ।

रोशी गाउँपालिका-३ का स्थानीय सुरज लामाका अनुसार गुरु रेन्पोछे (पद्मसम्भव)ले पाइला टेकेको पवित्र ठाउँ भएकाले महाभारत लेकको टुप्पोमा रहेको पोखरीमा जस्तोसुकै खडेरीमा पनि पानी सुक्दैन। यहाँ जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गर्छ। जनैपूर्णिमाका दिन धामी झाँक्रीहरु सो कुण्डमा पुगेर दर्शन गरेपछि शक्ति आर्जन गर्ने बताउँछन्।

परापूर्वकालमा ताराको टुक्रा खसेर जमिन भासिएर परेको खाल्डोमा पोखरी जमेपछि कुण्ड बनेको बताइन्छ। सो पोखरी सङ्लो रहने र कहिल्यै नसुक्ने स्थानीय बताउँछन्। गाउँपालिकाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा ताराखसे पोखरी रहेकोे रोशी गाउँपालिका-३ का वडाध्यक्ष धनजित लामाले बताए।

गुरु रेन्पोछे खोटाङको हलेसीबाट यात्रा गर्दै तेमालस्थित यारीनाग गुफा, महाभारत लेकको हात्ती आहाल, ताराखसे पोखरीमा पुगेर ध्यान गरेको किंवदन्ती छ। धार्मिक र पर्यटकीय दृष्टिले मनमोहक यस ठाउँको पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण सुरु गरिएको वडाध्यक्ष लामाले जानकारी दिए। हाल पोखरी भएको स्थानमा जान सडक, वनभोज स्थल र शौचालय लगायतका संरचना बनिसकेका छन्। 

रोशी गाउँपालिका उपाध्यक्ष मीमबहादुर वाईबाले दुई हजार पाँच सय ५० मिटरको उचाइमा अवस्थित ताराखसे लेकको विकास र पर्यटन प्रवर्द्धन गर्न पालिकाले योजनाबद्धरुपमा काम गरिरहेको बताए। महाभारत क्षेत्र घुम्ने पदमार्ग निर्माण भइरहेको उहाँको भनाइ छ। हाल फूलचोकीदेखि ताराखसे पोखरीसम्म सिँढी निर्माण भइसकेको र त्यहाँबाट भूमेचुली जुकेपानी हुँदै सिन्धुलीको घ्याङलेकसम्मको विस्तृत गुरुयोजना तयार पारिएको उनले बताए।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले ताराखसे पोखरीबारे प्रचार गर्न आग्रह गरे। उजले पोखरी व्यवस्थापन र आवश्यक संरचना निर्माण भइरहेको जानकारी दिए। संघीय सरकारको विशेष अनुदानतर्फ आर्थिक वर्ष २०८०/०८१ मा एक करोड बजेटबाट सिँढी, रेलिङ, शौचालय, धारा, खानेपानी ट्यांकी, आवासस्थल र सवारी पार्किङस्थल निर्माण गरिएको छ। 

यहाँबाट वरिपरीको हरियाली डाँडाकाँडासँगै सुन्दर हिमालका दृश्य अवलोकन गर्न सकिन्छ। ताराखसे पुग्न बनेपाबाट नमोबुद्ध-दाप्चा-गहते-फलामे साँघु-शिखर आम्बोट-साँझकोट-निंगाले हुँदै जानुपर्छ। रासस


प्रकाशित : बुधबार, भदौ ५ २०८११३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend