मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

तेस्रो मुलुकका लागि पूर्वीनाका खुला गरेसँगै बढ्दै पर्यटक आवागमन

बिहीबार , साउन ३१ २०८१
तेस्रो मुलुकका लागि पूर्वीनाका खुला गरेसँगै बढ्दै पर्यटक आवागमन

तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर दुई सय २५ पर्यटकको आवागमन भएको छ।

झापा- पूर्वी नाका काँकरभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ।

अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर दुई सय २५ पर्यटकको आवागमन भएको छ। सोही अवधिमा एक सय २३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने एक सय दुई जना बर्हिगमन भएका छन्।

कार्यालयका प्रमुख मोहन पनेरुले बंगलादेशमा भएको आन्दोलनको असरका कारण पर्यटक सोचे जति आउन नसकेको बताए। उनले नाका खुलेसँगै पर्यटक आगमन अब बढ्ने बताए।

'धेरै यो नाकाबाट आउने पर्यटक बंगलादेशी हुन्छन्', उनले भने, 'आन्दोलनका कारण उहाँहरुलाई नेपाल प्रवेशमा नाकामा कडाइ गरिएको छ, त्यहाँ सहज वातावरण भएसँगै यता सहज भइहाल्छ।'

कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिए पनि पूर्वी नाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो। यही कारण पूर्वी नाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो। यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट सरकारको पहलमा पर्यटकका लागि नाका खुला गरिएको थियो।

यो अवधिमा भूटानी, अमेरिका, स्वीजरल्याण्ड, बंगलादेश, मलेसिया, रोमानिन्या, साउथ कोरिया, सिंगापुरलगायत विभिन्न देशका पर्यटकको आगमन भएको उनले बताए। रासस


प्रकाशित : बिहीबार , साउन ३१ २०८११३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend