शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा पाँच पुल निर्माण, एक महिनामात्र समय बाँकी हुँदा २८ प्रतिशत प्रगति

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २८ २०८१
मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा पाँच पुल निर्माण, एक महिनामात्र समय बाँकी हुँदा २८ प्रतिशत प्रगति

पश्चिम खण्ड विस्तारका लागि २०७८ भदौमा सम्झौता गरिएको थियो। यो खण्डको काम २०८१ भदौसम्म सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ।

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तार कार्यअन्तर्गत पश्चिम खण्डमा निर्माणधीन १३ पुलमध्ये पाँच पुलको निर्माण कार्य सम्पन्न भएको छ।

पश्चिम खण्डमा रहेको ३८ दशमलव ८८ किमी सडकअन्तर्गत उक्त पुल निर्माण गरिएका हुन्। पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलका अनुसार आठ पुलका गाडी गुड्ने संरचनाको निर्माण भइसकेको छ। 

उनका अनुसार गत वर्ष नौ प्रतिशत भौतिक प्रगतिमा सीमित रहेको यस खण्डमा अहिले २८ प्रतिशत प्रगति पुगेको छ। उनले भने, 'गत वर्षको तुलनामा यस वर्ष निर्माण कार्यले गति लिएको छ।'

यस खण्डमा चार र छ लेनको सडक निर्माण गरिनेछ। सडकको बीच भागबाट दायाँबायाँ २५/२५ मिटर दूरी कायम गरी सडक विस्तार कार्य गरिएको छ। त्यसअनुरुप दुई लेनमा २० किमी सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ। 

पश्चिम खण्ड विस्तारका लागि २०७८ भदौमा सम्झौता गरिएको थियो। यो खण्डको काम २०८१ भदौसम्म सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ। सम्झौता अवधि सकिन अब एक महिना मात्रै बाँकी रहेको छ।

निर्माण कार्य ढिलो गरी सुरु गरिएको र कोरोनाका कारण निर्माण कार्य प्रभावित हुँदा सोचेअनुरुप प्रगति हासिल गर्न नसकिएको इन्जिनियर पौडेलले बताए। उनका अनुसार यस खण्डमा निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ।

सडक निर्माणमा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ। यस खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख रकम रहेको छ। 

वर्षायामको अवधिभर कालोपत्र कार्य रोकी नाला, पर्खाल निर्माणलगायत  कार्यलाई प्राथमिकता दिइएको छ। उनले भने, 'विद्युतका खम्बा र खानेपानीका पाइप हटाउन समस्या भएका कारण सडक विस्तारका कार्य प्रभावित हुने गरेको छ।' रासस


प्रकाशित : सोमबार, साउन २८ २०८११३:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend