मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पर्यटक लोभ्याउँदै गाईखुरे झरना

बुधबार, साउन २३ २०८१
पर्यटक लोभ्याउँदै गाईखुरे झरना

झरनालाई थप व्यवस्थित गर्दै संरचना थपेर पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेर अघि बढ्न लागेको नगरपालिकाले जनाएको छ।

लमजुङ- झर्झराउँदो झरना। पहाडबाट झर्दै गरेको पानी। हरियालीका साथै फेदमा सुन्दर पोखरी। ८० मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भिड लाग्छ। यो झरना देख्नासाथ नलोभिने कोही हुँदैनन्। झरनाको फेद पुग्न मन लाग्छ।

झरनासँग सेल्फी खिच्नेको बाक्लै भिड लाग्छ। झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात उस्तै हुन्छ।

झरनाले मनै लोभ्याउँदा विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक झरनामा आनन्द लिन आउने गरेका छन्। डुम्रे-बेँसीसहर सडक छेउमै तथा मर्स्याङ्दी नदी नजिकै यो झरना छ। बेँसीसहर नगरपालिका-१ दलालस्थित गाईखुरे झरना अगाडि एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु। यस झरनामा दैनिक यतिबेला दुई सय भन्दा बढी पर्यटक आउने गरेका छन्।

त्यस्तै, शुक्रबार, शनिबार र बिदाको समयमा यहाँ दोब्बर पर्यटक झरनामा आउने गर्दछन्। स्थानीय सुदिप पन्तका अनुसार यस झरनामा लमजुङसहित छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेका छन्।

मनोरञ्जनको क्षेत्र कम भएको यस जिल्लामा यस झरना मनोरञ्जनको माध्यम बनिरहेको छ। बर्सेनि झैँ यस वर्षपनि झरनामा आएका बेँसीसहर नगरपालिका- ८ का एन्जिल गुरुङले झरनाको शीतलतासँगै तस्बिर खिच्दा रमाइलो हुने गरेको बताए। उनले भने, 'यहाँ आउँदा बेग्लै आनन्द मिल्छ।'

झरना व्यवस्थित भने हुन सकेको छैन। स्थानीयका अनुसार विगतमा यहाँ विदेशी पर्यटकसमेत आउने गरेका थिए। सो झरना र पोखरी हेर्न तथा पौडी खेल्न मात्र नभइ साहसिक खेल क्यानोनिङको समेत राम्रो सम्भावना रहेको छ।

यस वडाका वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले यतिबेला पर्यटकको भिडभाड लागिरहेको बताए। पर्यटकहरुको भिड लागेपनि यस झरनालाई व्यवस्थित बनाउन नसक्दा दुःख लागिरहेको उनको भनाइ छ।

झरनालाई थप व्यवस्थित गर्दै संरचना थपेर पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेर अघि बढ्न लागेको नगरपालिकाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, साउन २३ २०८११७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend