बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

प्रधानमन्त्रीले मागे पोखरा र गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको योजना

शनिबार, साउन १९ २०८१
प्रधानमन्त्रीले मागे पोखरा र गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको योजना

छलफलमा प्रधानमन्त्री केपी ओलीले निर्माण भएको लामो समयसम्म दुई विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौं विमानस्थलको क्षमताभन्दा बढी भएको विषयलाई गम्भीररुपमा लिँदै त्यसका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरे।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना मागेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती दुई नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि विद्यमान समस्या, समाधानका उपाय ल्याउन निर्देशन दिएका हुन्।

छलफलमा प्रधानमन्त्री ओलीले निर्माण भएको लामो समयसम्म दुई विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौं विमानस्थलको क्षमताभन्दा बढी भएको विषयलाई गम्भीररुपमा लिँदै त्यसका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले दुवै विमानस्थल प्रभावकारीरुपमा सञ्चालनका लागि अध्यागमनलगायत अन्य सुविधा सञ्चालन गर्न, इन्धन भण्डारण विमानस्थल नजिक राख्न लागिएको भए अन्यत्र सार्न, हवाई इन्धनको मूल्य घटाउन, मूल्य अभिवृद्धि कर र पर्यटन कर नलिने व्यवस्था गर्न, ग्राउण्ड ह्याण्डलिङ सेवा नियमअनुसार जुन निकायले पाउनुपर्ने हो त्यही निकायलाई दिन निर्देश गरे।

छलफलपछि आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसचिवहरु रहने कार्यदललाई विमानस्थल सञ्चालनको योजना ल्याउन जिम्मेवारी दिइएको छ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकार मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलगायत सहभागी थिए। 


प्रकाशित : शनिबार, साउन १९ २०८१११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend