बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

रेसुंगा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

आइतबार, साउन १३ २०८१
रेसुंगा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावा चल्ने भएकाले प्राविधिक दृष्टिकोणले बिहान ११ बजेसम्म मात्र उडान भर्न उपयुक्त मानिन्छ।

गुल्मी- जिल्लाको रेसुंगा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ।

वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुंगा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए। उनका अनुसार पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न सकेको छैन।

रेसुंगा‐काठमाडौं र काठमाडौं‐रेसुंगाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेको बताउँछन्।

मौसममा सुधार नआउँदासम्म नियमित उडानमा समस्या हुने भएकाले यात्रीको सुरक्षालाई ध्यान दिँदै उडान रोकिएको प्रमुख थापाले बताए। गुल्मीको रेसुंगा विमानस्थल निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले उडान गर्दै आइरहेको छ।

काठमाडौंबाट बिहान ६:३० बजे र रेसुंगा विमानस्थलबाट बिहान ७:३० बजे नियमित उडान तालिका छ। सोही तालिकाअनुसार निगमले काठमाडौंबाट रेसुंगा लागि सात हजार पाँचसय र रेसुंगाबाट काठमाडौंका लागि सात हजार तीनसय रूपैयाँ भाडादर निर्धारण गरेको छ।

जिल्लामा गत वर्षदेखि व्यावसायिकरुपमा हवाई उडान सुरु गरिएको थियो। रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावा चल्ने भएकाले प्राविधिक दृष्टिकोणले बिहान ११ बजेसम्म मात्र उडान भर्न उपयुक्त मानिन्छ। पछिल्लो समयमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएकोे छ।

रेसुंगा विमानस्थलबाट काठमाडौंका लागि एक वर्षमा एक सय २५ उडान भइसकेका विमानस्थल कार्यालयले जनाएको छ। उक्त विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दुरीमा पर्दछ। रासस


प्रकाशित : आइतबार, साउन १३ २०८११३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend