सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टेलिकमको इन्टरनेट सेवा गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न निर्देशन

सोमबार, पुस १९ २०७८
टेलिकमको इन्टरनेट सेवा गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न निर्देशन

काठमाडौं- नेपाल टेलिकमको इन्टरनेट सेवा प्रभावकारी र गुणस्तरीय बनाउन ३० दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिइएको छ।प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न निर्देशन दिएको हो।

समितिको सोमबार बसेको बैठकले टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएको भन्दै टेलिकमले दिने इन्टरनेटको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र समितिमा पेश गर्न निर्देशन दिएको हो।

समितिले आगामी कामहरू जनताले अपेक्षा गरेअनुरुप बनाउन पनि टेलिकमलाई निर्देश गरेको छ।

समितिकी सभापति कल्याणीकुमारी खड्काले भनिन्- ‘नेपाल टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी नभएको गुनासो आम नागरिकमा उठिरहेको सन्दर्भमा टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी, गुणस्तरीय र आम नागरिकले अपेक्षा गरे अनुरुप बनाउन टेलिकमको आगामी आयोजना, कार्ययोजना स्पष्ट रुपमा ३० दिनभित्र पेश गर्न नेपाल सरकारलाई हामीले निर्देशन गरिसकेका थियौँ। फेरि हामीले त्यसलाई पुर्ननिर्देशन गरेका छौँ।’

समितिले नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्षमा सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसक्ने कार्ययोजना समितिमा पेश गरेको उल्लेख गर्दै बाँकी रहेका ४३ वटा स्थानीय तहमा कहिलेसम्म सेवा पुर्‍याउने हो? सो को कार्ययोजना पनि सात दिनभित्र पेश गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सचेत गराएको छ।

त्यस्तै टेलिकमले पूर्वाधार निर्माणको काम अगाडि बढाउन नसकेको भन्दै समितिले आवश्यक जनशक्ति व्यवस्था गरी गुणस्तरीय सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनेको छ। त्यसैगरी कुनैपनि निकाय वा संस्थालाई निरुत्साहित हुनेगरी नभइ संस्थाको हितमा हुनेगरी नियमावली संशोधन गर्ने प्रक्रिया अगाडि बढाउनमा ध्यान पुर्‍याउन सरकारलाई समितिको निर्देशन छ।


प्रकाशित : सोमबार, पुस १९ २०७८१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend