बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चितवन राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको आगमन, गत आवमा तीन लाखभन्दा बढीले गरे भ्रमण

पर्यटनबाट निकुञ्जले उठायो ३० करोड ५७ लाख राजस्व

शनिबार, साउन ५ २०८१
चितवन राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको आगमन, गत आवमा तीन लाखभन्दा बढीले गरे भ्रमण

अघिल्लो आवमा निकुञ्जको भ्रमण दुई लाखले गरेका थिए भने गत आवमा तीन लाखले भ्रमण गरेका छन्।

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन्। गत आर्थिक वर्षमा एक लाख ७६ हजार तीन सय १६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए। आव २०७९/८० मा दुई लाख पाँच हजार ६ सय पाँच आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए।

गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ तथा आव २०७९/८० मा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए। अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० यहाँ घुम्न आएका थिए भने आव २०७९/८० मा ५५ हजार आठ सय ७२ जनाले निकुञ्जको अवलोकन गरेका थिए। आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका सूचना अधिकारी तिवारीले जानकारी दिए।

गत आवमा अघिल्लो आवको तुलनामा तेस्रो मुलुकका पर्यटकको यहाँ आगमन बढेको पाइएको छ।

निकुञ्जमा पर्यटकको आगमन बढेसँगै राजस्वमा समेत वृद्धि भएको छ। सूचना अधिकारी तिवारीका अनुसार गत आवमा पर्या-पर्यटनबाट ३० करोड ५७ लाख रूपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आवमा यो रकम २२ करोड ९४ लाख रूपैयाँ रहेको थियो। आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए। यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व संकलन भएको थियो।

यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ रूपैयाँ राजस्व संकलन भएको थियो। आव २०७६/७७ मा १९ करोड ९२ लाख ५५ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

निकुञ्ज स्थापनासँगै आव २०३१/३२ देखि पर्यटकको तथ्यांक राख्न थालिएको हो। सो आवमा आठ सय ३६ पर्यटकले मात्र निकुञ्ज घुमेको तथ्यांक छ। सो आवमा एक लाख ४० हजार रूपैयाँ राजस्व संकलन भएको थियो। आव २०३२/३३ मा दुई हजार दुई सय ६ पर्यटकले निकुञ्जको भ्रमण गर्दा दुई लाख एक हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको बताइन्। भ्रमण वर्षमा आउने पर्यटकको मुख्य गन्तव्य निकुञ्ज रहेको उनले उल्लेख गरिन्।


प्रकाशित : शनिबार, साउन ५ २०८१११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend