शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

मोहनापुल-अत्तरिया सडक : पुलको कामले गति लिन सकेन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ४ २०८१
मोहनापुल-अत्तरिया सडक : पुलको कामले गति लिन सकेन

यसैगरी कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा २७ महिनामा सक्नेगरी २०७८ माघमा निर्माण कम्पनीसँग १३ करोड ३६ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो।

गोदावरी- मोहनापुल-अत्तरिया छ लेन सडकखण्डमा निर्माणाधीन तीनवटा पक्की पुलको कामले अझै गति लिनसकेको छैन। गोदावरी नगरपालिका-५ सुनिखोला, मनहरा खोला र मोहना नदीमा पुल निर्माणाधीन छ। 

सुनिखोलामा तीन करोड ७७ लाख रुपैयाँको लागतमा निर्माण कम्पनीले २०७९ कात्तिकमा निर्माण सम्पन्न गर्नेगरी २०७७ कात्तिकमा ठेक्का सम्झौता गरेको थियो। सो अवधिमा पुल निर्माणको काम सम्पन्न नभएपछि सो कम्पनीसंग पुल निर्माणको म्याद २०८० असारसम्मका लागि थपिएको थियो।

थपिएको समयावधिमा सुनिखोला पुल निर्माणको काम ८५ प्रतिशतमात्र पूरा भएको महाकाली पुल आयोजनाले जनाएको छ।

बाँकी काम म्याद सकिएको एक वर्षसम्म पनि पूरा हुन नसकेको महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी कपिल पन्तले बताए। गोदावरी-५ मनहरा खोलामा नौ करोड ५० लाख रुपैयाँको लागतमा निर्माणाधीन पुलको काम अलपत्र छ। निर्माण कम्पनी मनहरा खोलाको पुल दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो।
 
मनहरा खोला पुलको ‘डिजाइन’ संशोधन गर्नुपर्ने भएपछि प्रगति कम रहेको महाकाली पुल आयोजनाले जनाएको छ। मनहरा खोला पुल निर्माणको समययावधि २०८१ कात्तिक २६ गतेसम्म रहेको सूचना अधिकारी पन्तले बताए।

यसैगरी कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा २७ महिनामा सक्नेगरी २०७८ माघमा निर्माण कम्पनीसँग १३ करोड ३६ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो।

मोहनामा पुल निर्माणको ४२ प्रतिशत काम भएको जनाइएको छ। मोहनामा २५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो। सो पुल निर्माणको समयावधि २०८१ जेठ ५ गते सकिएपछि २०८२ वैशाखसम्मका लागि समय थप गरिएको महाकाली पुल आयोजनाले जनाएको छ। 

महाकाली पुल आयोजना कार्यालयका सूचना अधिकारी पन्तले मोहनाको पुल निर्माणमा बजेट भए पनि सुनिखोला र मनहराको पुल निर्माणका लागि बजेटको अभाव हुनसक्ने बताए। रासस


प्रकाशित : शुक्रबार, साउन ४ २०८११२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend