बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’

बुधबार, साउन २ २०८१
बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’

गोरखा- बारपाक सुलिकोट गाउँपालिका-१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ।

बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण गरिएको ‘बुद्ध पार्क’ पुगेपछि पर्यटक तस्बिर खिचाउन मात्र होइन सिंगो बारपाकको दृश्यावलोकनका लागि घण्टौँसम्म त्यहाँ भुल्ने गरेका छन्।

'पार्कमा रहेको सुन्दर र आकर्षक चित्राकृतिले पनि पर्यटकलाई लोभ्याउने गरेको छ', स्थानीय मनबहादुर घलेले भने, 'बारपाक आएका पर्यटक बुद्ध पार्क नपुगी सायदै कोही फर्कँदैनन् होला।'

बुद्ध पार्कले बारपाकमा पर्यटकको आकर्षण थपिएको उनको भनाइ छ। 'बारपाक आफैमा प्राकृतिक हिसाबले पनि सुन्दर गाउँ हो,' उनले भने, 'यहाँको आफ्नै कला, संस्कृति र विशेषता छ, त्यसमाथि ताक्लेनान डाँडामा बनेको बुद्ध पार्कले बारपाकीको संस्कृतिलाई थप उजागर गरिदिएको छ।' बारपाक आउने पर्यटक बुद्ध पार्कमा घण्टौँसम्म बसेर रमाउने गरेको घलेले बताए।

बारपाकको सिंगो दृश्य देख्न सकिने स्थानमा निर्माण गरिएको बुद्ध पार्कमा करिब पाँच फिट अग्लो बुद्धको मूर्ति आकर्षक ढंगले राखिएको छ। त्यस्तै, पार्कमा बौद्ध धर्म, संस्कृति झल्कने खालका मानीलगायत सामग्री पनि रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए।

'पार्कमा पुग्ने पर्यटकले बारपाकको मनोरम दृश्यावलोकनसँगै बारपाकीहरुको संस्कृतिलाई राम्रोसँग बुझ्न र अध्ययन गर्ने अवसर समेत प्राप्त गर्छन्', उनले भने, 'त्यसैले पनि बुद्ध पार्क बारपाक पुग्ने पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ।'

बुद्ध पार्क ढुंगैढुंगाको कलात्मक सजावटबाट निर्माण गरिएको पार्क हो। 'यो पार्क बारपाकभित्रै अर्को पर्यटकीय गन्तव्य पनि बनेको छ,' उनले भने, 'प्राकृतिक स्वरुप झल्किएको यस पार्कको थप प्रचारप्रसार गर्नसके बारपाकमा अझै धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ।'

दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गरेका बिरगजे घलेको गाउँ बारपाक विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पको केन्द्र बिन्दु पनि हो। रासस


प्रकाशित : बुधबार, साउन २ २०८११३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend