बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक

मंगलबार, साउन १ २०८१
मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक

स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्ने बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए।

म्याग्दी- मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन्। मुस्ताङ भित्रने एक मात्र बेनी-जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँचसय चारजना बढी पर्यटक आएका हुन्। 

घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटक तथ्यांक तथा विवरण राख्ने गरेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले २०८० साउनदेखि २०८१ असार महिनासम्म ७४ हजार तीन सय ७४ वटा सवारी साधनमार्फत चार लाख २७ हजार दुई सय ७१ जना पर्यटक भित्रिएको जानकारी दिए।

तीन लाख १८ हजार आठ सय १४ जना आन्तरिक, ९९ हजार दुई ७६ जना सार्क राष्ट्रका र नौ हजार एक सय ७१ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका उनले बताए।

आर्थिक वर्ष २०७९/८० मा ६२ हजार तीन सय ४० वटा सवारी साधनमार्फत तीन लाख ७९ हजार सात सय ६७ जना पर्यटक मुस्ताङ आएका थिए। जसमध्ये आन्तरिक पर्यटक तीन लाख तीन हजार आठ सय जना र विदेशी ७५ हजार नौ सय ६७ जना रहेका थिए। 

सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चार माध्यमले संसारका उत्कृष्ट दश गन्तव्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए।

मुस्ताङ भित्रने विदेशी पर्यटकको ठूलो सङ्ख्या भारतीयको छ। उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्। मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थल छन्।

सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै गएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए। स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्ने उनले बताए।


प्रकाशित : मंगलबार, साउन १ २०८११५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend