सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ऋण लिँदा नागरिकता नै बन्धकीमा परेपछि समस्यामा सदा दम्पती

शनिबार, पुस १७ २०७८
ऋण लिँदा नागरिकता नै बन्धकीमा परेपछि समस्यामा सदा दम्पती

आफूसँग बन्धकीमा राख्ने कुनै समान नहुँदा साहूकहाँ नागरिकता नै राख्नु परेको सदाको दु:खेसो छ।

जनकपुर- साहूसँग ऋण लिँदा बन्धकीमा घर, गरहना, जग्गा जमिन वा अन्य चल अचल सम्पत्ति राख्ने त सुनिएकै हो, तर यहाँ ऋणका लागि साहूकहाँ बन्धकीमा नागरिकताको प्रमाणपत्र नै राखिएको भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ।

यस्तै भएको छ, सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ कविलासाको एक दलित परिवारमा। रामविलास सदाले स्थानीय साहू रवि मण्डलसँग २० हजार रूपैयाँ ऋण पाउनका लागि आफ्नो नागरिकता प्रमाणपत्र नै बन्धनकीमा राख्नु परेको छ।

'गत २०७६ चैत महिनामा कोरोना महामारी फैलिन नदिन सरकारले लकडान गरेका बेला सबै काम बन्द भएर गुजारा चलाउन नै मुश्किल भएकाले गाउँले रविसँग ऋण माग्न गएँ', ६० वर्षीय सदाले भने, 'तर रविले ऋण पाउन कुनै सामान बन्धकी राख्नुपर्छ, नत्र ऋण पाइनन् भनेर फर्कायो।'

आफूसँग बन्धकीमा राख्ने कुनै समान नहुँदा साहूकहाँ नागरिकता नै राख्नु परेको सदाको दु:खेसो छ। 'मसँग बन्धकीमा राख्न न कुनै जग्गा छ, न त कुनै गरगहना वा चलअचल सम्पत्ति नै', उनी भन्छन्, 'त्यतिकै ऋण दिनुस् म मजदुुरी गरेर विस्तारै तिरिदिन्छु भनेर आग्रह गर्दा सुरुमा साहू रविले मान्नु भएन, पछि बन्धकीमा नागरिकता नै राख्नुपर्छ भन्दै नागरिकता लिनुभयो', नागरिकता बन्धकीमा राखेपछि ठूलो समस्यामा परेको सदाको गुनासो छ।

ऋणका लागि नागरिकता बन्धकीमा राखेपछि अहिले सदाकी श्रीमती सावित्रीदेवीलाई नागरिकताको प्रमाणपत्र बनाउन कठिन भएको छ।

'पत्नीको नागरिकता बनाउन पतिको नागरिकता आवश्यक गरिएको छ क्यारे', उनले भने, 'वडाध्यक्षबाट नागरिकताका लागि  सिफारिस गराएर सबै कागजात लिइ पटकपटक बोदे बर्साइनस्थित इलाका प्रशासन कार्यालय पुगेँ तर पतिको नागरिकता नल्याएसम्म नागरिकता बनाउन मिल्दैन भनेर फर्काइदिए।'

एकातिर पतिको नागरिकता बन्धकीमा छ अर्काेतिर आफ्नो नागरिकताका लागि पतिको नागरिकता ल्याउनु भन्छ, त्यसैले ठूलो समस्यामा परेको सावित्रीदेवीको गुनासो छ।

ऋण लिएबापत बन्धकीमा राखिएको पतिको नागरिकता माग्न पटकपटक साहूँ रविकहाँ धाए पनि ऋण चुक्ता नगरेसम्म नागरिकता फिर्ता गर्न नमानेकाले अप्ठ्यारोमा परेको उनको भनाइ छ। भारतको पञ्जाबमा मजदुुरी  गरी हालै फर्किनुभएका आफ्ना पतिले साहू रविलाई २० हजारमध्ये १५ हजार रूपैयाँ चुक्ता गरे पनि पुरै ऋण चुक्ता नभएसम्म नागरिकता फिर्ता नदिने साहूले बताउँदै आएका छन्।

'नागरिकता फिर्ताका लागि कि त पूरै ऋण चुक्ता गर कि त मेरो खेतबारीमा मजदुरी गरी ऋण चुक्ता गर भन्दै आएका छन्', सावित्री देवी भन्छिन्, 'एकातिर तत्काल ऋण चुक्ता गर्ने पैसा छैन, अर्काेतिर म आफू बिरामी रहेकाले काम गर्नसक्ने अवस्था छैन्।' त्यसैले अप्ठ्यारोमा छु उनको भनाइ छ। भारतको विभिन्न सहरमा मजदूरीका लागि नेपालबाट कामदार लैजाने र ल्याउने ठेक्कापट्टाको काम गर्दै आएका साहू रविले ऋणबापतको रकम चुक्ताका लागि सावित्री देवीका पति रामविलासलाई पनि भारतको पञ्जाब लगेका थिए।

'मजदूरी गरेर पञ्जाबमै साहू रविलाई १५ हजार रूपैयाँ ऋण तिरिदिएँ', रामविलासले भने, 'तर बाँकी पाँच हजार रूपैयाँ र केही ब्याज रकमका लागि रविले नागरिकता फिर्ता दिन चाहिरहनु भएको छैन।' बन्धकीमा रहेको नागरिकता फिर्ता नपाएपछि मैले नागरिकताको प्रतिलिपि बनाउन खोजे पनि आवश्यक प्रमाणको आभावमा त्यो पनि सम्भव नभएको रामविलासको भनाइ छ।
 
'नागरिकताको प्रतिलिपि बनाउन पहिलाको नागरिकताको नम्बर, र जारी मिति चाहिन्छ', उनी भन्छिन्, 'वडाध्यक्ष नजिक नागरिकता प्रतिलिपिको सिफारिस गर्न पहिलाको नागरिकताको फोटोकपी वा नागरिकता नम्बर र जारी मिति भएको कुनै प्रमाण ल्याउनू भन्नुहुन्छ, तर मसँग न नागरिकताको फोटोकपी छ, न त नागरिकताको नम्बर र जारी मिति नै थाहा छ।' त्यसैले प्रतिलिपिसमेत बन्न नसकेको रामिविलासको गुनासो छ।

नागरिकता भएर पनि पहिचानविहीनको अवस्थामा पुग्दा राज्यका हरेक सेवा तथा सुविधाबाट समेत बञ्चित सदा दम्पतीले अहिलेको पहिचान विहीनताको अवस्थाबाट न्याय दिलाउन सबैसँग आग्रह गरेका छन्। सदा दम्पतीकोे समस्यालाई लिएर नागरिकताका लागि आफूहरुले पहल गरिरहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेशकुमार सदा बताउँछन्। द फ्रिडक फण्डको सहयोगमा उक्त केन्द्रले डाक्नेश्वरी नगरपालिका क्षेत्रमा दलित हरुवा चरुवा परिवारका लागि नागरिकता, जन्मदर्ताका लागि अभियान सञ्चालन गर्दै आएको छ।

दलित बस्तीका हरुवा चरुवा परिवारलाई लक्ष गरी व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरण कार्यक्रम सञ्चालन गर्दै आएकोे केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरी बताउँछिन्। त्यही कार्यक्रमअन्तर्गत सदा दम्पतीको नागरिकता समस्या समाधानको पहल भइरहेको कार्यक्रम उनको भनाइ छ। रासस  


प्रकाशित : शनिबार, पुस १७ २०७८०८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend