सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

राजमार्ग विस्तारमा अप्टिकल फाइबर काटिँदा नेटवर्कमा समस्या

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १६ २०७८
राजमार्ग विस्तारमा अप्टिकल फाइबर काटिँदा नेटवर्कमा समस्या

कावासोती- राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ-बुटवल सडक विस्तारका क्रममा पटक-पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो।

बिहीबारमात्रै अरुणखोला क्षेत्रमा बाटो विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा दिनभरजसो नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या भएको थियो। यो समस्या नवलपुरमा अहिले पटक-पटक हुन थालेको छ। मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन्। नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन फोन दुवैमा समस्या हुने गरेको छ।

जिल्लाको गैँडाकोट थुम्सीबाट दाउन्नेसम्मका सेवाग्राही समस्यामा पर्दै आएका छन्। गैँडाकोट बजार क्षेत्रमा भने भरतपुरबाट सेवा प्रवाह हुने भएकाले समस्या नभएको नेपाल टेलिकम कावासोती शाखाका कार्यालय प्रमुख चन्दनकुमार झाले जानकारी दिए। गैँडाकोट बजार क्षेत्रबाहेक अन्य ठाउँमा भने बाटो विस्तारको क्रममा अप्टिकल फाइबर काँटिदा समस्या भएको उनले बताए। 

पटक-पटक विभिन्न क्षेत्रमा तार काँटिदा समस्या बल्झिएको उनले बताए। प्राविधिकले तार काटिएका ठाउँमा मर्मत गरी सेवा प्रदान गर्न खटिएको भए पनि बाटो विस्तारका क्रममा पटक-पटक तार काँटिदा समस्या जटिल बन्दै गएको कार्यालय प्रमुख झाले सुनाए। बाटो विस्तारका क्रममा अप्टिकल फाइबर भएको क्षेत्रको पहिचान गरी सावधानी नअपनाउँदासमेत समस्या भएको छ।

धेरै ठाउँमा काटिएका तार मर्मत गरी सेवा प्रदान गरिएकाले कुनै पनि समय सेवा अवरुद्ध हुनसक्ने र सेवाको गुणस्तर कम हुनसक्ने कार्यालय प्रमुख झाले बताए। 'पटक-पटक तार काटिएको छ, जसोतसो मर्मत गरी सेवा प्रदान गरिरहेका छौँ', कार्यालय प्रमुख झाले भने, 'तारमा धेरै क्षति भएकाले सेवा कुनै पनि समय अवरुद्ध हुने, कम गुणस्तरको हुने, बोलेको नबुझिने हुने समस्या आउन सक्छ।'

यसअघि बिछ्याइएका नेपाल टेलिकमका तार पुरानो बाटो नजिकै रहेका र अहिले विस्तार गर्दा ती तार झण्डै बाटोको बीच भागमा पर्ने अवस्था छ।

यही अवस्थामा सेवा प्रदान गर्न समस्या हुने कार्यालय प्रमुख झाले बताए। नयाँ अप्टिकल फाइबरसहित व्यवस्थापनका लागि हालै केन्द्रबाट कुनै योजना नरहेको उनले बताए। 'हालै नयाँ योजना केही छैन, तर केन्द्रमा समस्याका बारेमा भन्छौँ', कार्यालय प्रमुख झाले भने। बाटो विस्तारका क्रममा पटक-पटक तार काटिँदा नेपाल टेलिकमका सेवाग्राहीले लामो समयसम्म समस्या भोगिरहनुपर्ने अवस्था देखिएको छ। रासस


प्रकाशित : शुक्रबार, पुस १६ २०७८०५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend