बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नेपाल वायुसेवा निगममा नयाँ महाप्रबन्धक ल्याउने खेल, दुई सञ्चालक हटाउने तयारी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २३ २०८१
नेपाल वायुसेवा निगममा नयाँ महाप्रबन्धक ल्याउने खेल, दुई सञ्चालक हटाउने तयारी

काठमाडौं- नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। एमालले सर्मथन फिर्ता लिएसँगै आफ्ना मन्त्रीहरूसमेत फिर्ता गरिसकेको छ। 

अल्पमतको सरकार २८ गतेसम्म मात्रै रहनेछ। २८ गतेका लागि प्रधानमन्त्रीले विश्वासको मत लिने गरी संसदमा पत्र दर्ता गराइसकेका छन्। अल्पमतको सरकारलाई कुनै पनि नियुक्ति नगर्न एमालेले सुझाइसकेको छ। तर सरकार अन्तिम मौका यही हो भन्दै आर्थिक लाभ लिएर आफूनिकटलाई नियुक्त गर्न लागिपरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पनि आर्थिक लाभ लिएर नेपाल एयरलाइन्समा दुईजना सञ्चालक ल्याउने तयारी गरेका छन्। तामाङले हालका सञ्चालक किशोर प्रधान र सुधिर राईलाई हटाएर आफूनिकटलाई निगम सञ्चालक बनाउन लागेका छन्। मन्त्रालय स्रोतका अनुसार तामाङले यस विषयमा शुक्रबार दिउँसो मन्त्रालयमा छलफलसमेत गरेका थिए।

स्रोतका अनुसार प्रधान र राईलाई हटाउँदै दुईजना सञ्चालक नियुक्तिको विषयमा छलफल भएको हो। छलफलअनुसार केही सयम अगाडिदेखि नै निगम महाप्रबन्धक भएर आउने भन्दै हिँडेका मनोज भारती र एकजना लामा थरका कार्यकर्तालाई सञ्चालक बनाउने तयारी भएको छ।

भारतीलाई मन्त्री तामाङले निगममा सञ्चालक बनाएर महाप्रबन्धक बनाउने तयारीमा लागेका छन्। पटक-पटक भारतीले निगममा आउन जाेडबल गरेता पनि यसपटक भने सफल हुन सकिने आशमा अन्तिम दाैडमा रहेका छन्। 

मन्त्री तामाङले भारतीसँग आर्थिक लाभ लिँदै सञ्चालक बनाएर महाप्रबन्धक बनाउने बचन दिएको र सोहीअनुसार काम भएको मन्त्रालय स्रोतको दाबी छ। भारती एभिएसन विज्ञ व्यक्ति हैनन्। उनी कुनै बेला समिट एयरको सुर्खेतको कार्गो एजेन्ट भएर काम गरेका व्यक्ति हुन्।

अहिले आर्थिक संकटमा फसेको निगमलाई झन संकटमा लैजाने खेल सुरु भएको छ। हालका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमलाई विघटनको अवस्थामा पुर्‍याएका छन्। निगम सुधारका लागि नेतृत्व परिवर्तन आवश्यक भने छ।

तर मन्त्री तामाङले सरकारबाट बाहिरिएर जाने बेलामा नियुक्तिका लागि फाइल मन्त्रिपरिषद पठाउने तयारी गरेका छन्। सम्भवत: सोमबारको मन्त्रिपरिषदबाट उक्त निर्णय गराउने तयारी भएको मन्त्रालयको दाबी छ।

मन्त्री तामाङले भारतीलाई सदस्य नियुक्त गर्दै महाप्रबन्धको जिम्मेवारी दिन र हालका कार्यकारी अध्यक्षलाई बोर्ड अध्यक्षको मात्रै जिम्मेवारी दिन नयाँ खेल गरेका हुन्।


प्रकाशित : आइतबार, असार २३ २०८११६:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend