शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

काठमाडौं‍-मधेस द्रुतमार्ग : छिचोलियो लेनडाँडा सुरुङ

बिहीबार , असार २० २०८१
काठमाडौं‍-मधेस द्रुतमार्ग : छिचोलियो लेनडाँडा सुरुङ

आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्नसमेत निर्देशन दिएको नेपाली सेनाले जनाएको छ।

काठमाडौं- काठमाडौं‍-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ। उक्त सुरुङ बिहीबार छिचोलिएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं‍-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नं. २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६ सय १२ मिटर लम्बाई रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग असार २० गते छिचोलिएको हो।

प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरेका थिए। सो अवसरमा प्रधानसेनापतिले तोकिएको समयमा नै सुरुङमार्गहरु छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका निकाय तथा व्यक्तिहरूलाई डटेर काम गर्न आग्रह गरे। 

lendada surung1.jpg

आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्नसमेत निर्देशन दिएको नेपाली सेनाले जनाएको छ। उक्त कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति रहेको थियो।

यस्तै २०८१ जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ६ सय ३३ मिटर लम्बाइको सुरुङमार्ग र २०८१ जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग छिचोलिएका थिए।


प्रकाशित : बिहीबार , असार २० २०८११६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend