बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं-भरतपुर उडान गर्ने

आइतबार, असार ९ २०८१
बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं-भरतपुर उडान गर्ने

धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो।

चितवन- बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं-भरतपुर उडान गर्ने भएको छ। धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो।

बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए।

गत साता श्री एयरले काठमाडौं-भरतपुर ८० सिटे जहाजको  परीक्षण उडान गरिसकेको छ। बस्नेतका अनुसार एयरलायन्सले अनुमति प्राप्त गरिसकेकाले परीक्षण उडानसँगै नियमित उडान गरिनेछ।

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उनले बताए। बस्नेतका अनुसार जहाजले काठमाडौंबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौं जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ। अहिले बुद्धको एटीआर-४२ जहाज काठमाडौं र पोखरा सञ्चालन हुँदै आएका छन्।

काठमाडौं-भरतपुर दैनिक नौवटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ। यो जहाजको क्षमता ४७ सिट भए पनि धावनमार्ग र गर्मीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

अब सञ्चालन गर्न लागिएको जहाज एटीआर-७२ हो। बुद्धले सन् २००५ बाट नियमित भरतपुर उडान गर्दै आएको छ। अहिले मासिक ११ हजार भन्दा बढी यात्रुलाई बुद्ध एयरले सेवा दिइसकेको छ।

साना जहाज उडान हुँदा एकतर्फी भाडा चार हजार सातसय रूपैयाँभन्दा बढी छ। ठूला जहाज सञ्चालन भएसँगै हवाई भाडा घट्ने जनाइएको छ। भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण र धावन मार्गसमेत विस्तार हुँदैछ। रासस


प्रकाशित : आइतबार, असार ९ २०८११४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend