शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

मध्यपहाडी लोकमार्ग : धारापानी-झिनडाँडाखण्डमा स्तरोन्नति सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ६ २०८१
मध्यपहाडी लोकमार्ग : धारापानी-झिनडाँडाखण्डमा स्तरोन्नति सुरु

मरेनीसम्म बनेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी थप ६ करोड ५० लाख विनियोजन भएको छ।

म्याग्दी- धौलागिरि गाउँपालिका-७ धारापानीदेखि धारापानी-ताकम-शिवाङ-झिनडाँडासम्मको सडक स्तरोन्नति थालिएको छ। 

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना सडकअन्तर्गत धौलागिरि गाउँपालिकाको धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेलको काम सुरु भएको हो। 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा पाँच करोड विनियोजन गरेको यस सडकका लागि २५ करोड बराबरको वहुबर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चिता गरेको थियो। 

प्रतिस्पर्धामार्फत आयोजना निर्माणका लागि छनोट भएको निर्माण कम्पनी रामसागर-बिएस धौलागिरि जेभीले संयुक्त सर्वेक्षणको काम सकेर सडक फराकिलो बनाउन कार्यक्षेत्रमा परिचालन भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले जानकारी दिए। 

चार किलोमिटर लामो यो सडक स्तरोन्नति गर्न उक्त कम्पनीले १४ करोड ६१ लाख ६१ हजारमा गत जेठ २० गते सडक विभागसँग सम्झौता गरेको छ। 

म्याग्दीबाट ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो हुने भएकाले यसलाई प्राथमिकता दिइएको गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए। 

यो सडक आयोजनाअन्तर्गत झिनडाँडादेखि मुनातर्फ हालै ग्राभेल भएको छभने दरवाङ-धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा एक अर्ब बजेट विनियोजन भएको उनले जानकारी दिए। हाल मरेनीसम्म बनेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी थप ६ करोड ५० लाख विनियोजन भएको जुग्जालीले बताए।  

विसं २०६६ मा धारापानीमा पुगेको सडक स्तरोन्नति गर्न स्थानीयले जग्गा उपलब्ध गराउने सहमति गरेका टोल सुधार समितिका संयोजक रिमबहादुर थापाले बताए।

धारापानीका अगुवा किरण थापाले सडक आठ मिटर फराकिलो बनाउन सबै जग्गाधनी सहमत भएका तथा त्यसनिम्ति जग्गा प्रदान गर्न तयार रहेका बताए। रासस


प्रकाशित : बिहीबार , असार ६ २०८११०:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend