बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण

आइतबार, असार २ २०८१
मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण

द मनसुन युवा क्लब’ मा आबद्ध बेनी- ५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थलसहितको उद्यान बनाएका हुन्।

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन्। ‘द मनसुन युवा क्लब’ मा आबद्ध बेनी- ५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थलसहितको उद्यान बनाएका हुन्।

क्लबका अध्यक्ष दिनेश बानियाँले गत तीजका अवसरमा आयोजना गरिएको मेलाको आम्दानी र श्रमदान जुटाएर पर्यटकीय पूर्वाधार बनाइएको बताए। 'आराम गरेर बस्न मिल्ने फलामको बेञ्च, फुटपाथ, फोहर व्यवस्थापन, चौतारी निर्माण गर्न ८० हजार रूपैयाँ खर्च भएको छ', उनले भने, 'मेला सञ्चालन गरेर भएको आम्दानीबाट रंग किनेर उद्यानमा रहेका अग्ला सिसौका रुखलाई रङ्ग्याइएको छ।' 

नगदबाहेक क्लबमा आबद्ध १५ जना युवाले पाँच दिनका दरले श्रमदान गरेका थिए। फोहर व्यवस्थापन गर्ने डष्टविन पनि राखेको छ। बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिममा रहेको चुत्रेनी म्याग्दी नदीको किनारमा अवस्थित छ। जंगलभित्र र म्याग्दी नदीको किनारको सो उद्यान विशेष गरेर गर्मी याममा शीतल हुन्छ। 

एकान्त वातावरणमा आनन्द लिन, तनाव व्यवस्थापन गर्न र शीतलताका लागि चुत्रेनीको उद्यान उपयुक्त गन्तव्य बन्नसक्ने स्थानीय बताउँछन्। सिंगा तातोपानी जाने बेनी-दरबाङ सडकको नजिकै उद्यान रहेको छ। जंगलको अग्ला सिसौका रुखलाई रङ लगाएर राम्रो पारिएको छ। 

हिँड्ने फुटपाथमा सडक कालोपत्र गर्न प्रयोग हुने रोडा राखिएको छ। पैदलमार्गको दायाँ र बायाँ ढुंगालाई आकर्षक बनाएर ठाडो पारी राखिएको छ। उद्यान भएको ठाउँमा यसअघि टहरा र सार्वजनिक शौचालय बनाइसकिएको थियो।

सांस्कृति कार्यक्रम गर्न पनि उपयुक्त रहेको सो ठाउँमा भेला, बैठक, सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ। रासस


प्रकाशित : आइतबार, असार २ २०८११६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend