आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बेनी-पाखापानी सडक स्तरोन्नति सुरु, २० करोड रुपैयाँको स्रोत सुनिश्चितता

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २ २०८१
बेनी-पाखापानी सडक स्तरोन्नति सुरु, २० करोड रुपैयाँको स्रोत सुनिश्चितता

बेनी-पाखापानी सडकको तोरीपानी-पात्लेखेत-झिँ-पाखापानी खण्डको स्तरोन्नति गर्न अर्को चरणको आयोजनाका लागि बजेट व्यवस्थापनको प्रयास जारी छ।

म्याग्दी- म्याग्दीको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी- पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।  

बेनी नगरपालिका-९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र थालिएको हो।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो सडक स्तरोन्नति सुरु गरेको हो।

चालु आर्थिक वर्षमा चार करोड बजेट विनियोजन भएको यो सडकका लागि २० करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान भएको थियो। हाल सडक फराकिलो बनाउने र पर्खाल निर्माण गर्ने भइरहेको छ।

जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार तीन दशमलव पाँच मिटर चौडाइको सडकलाई  सात मिटर फराकिलो बनाएर कालोपत्र र ढलान गरिने छ। यो बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नं वडाका बासिन्दाको आवागमनको प्रमुख बाटो हो। 

यसैगरी, चालु आवमा बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा दुई करोड बजेटबाट वडा नं ६ को एक्लेपिपलबाट वडा नं ९ को किराखोरसम्म एक किलोमिटर दुई सय मिटर सडक फराकिलो, नाली निर्माण, टेवा पर्खाललगायत काम सकेर कालोपत्र र ढलानको तयारी गरिएको नगरप्रमुख सुरत केसीले बताए। बेनीबाट अर्थुङ्गेसम्मको तीन किलोमिटर सडक कालोपत्र र ढलान गरेर स्तरोन्नति भइसकेको छ। 

बेनी-पाखापानी सडकको तोरीपानी-पात्लेखेत-झिँ-पाखापानी खण्डको स्तरोन्नति गर्न अर्को चरणको आयोजनाका लागि बजेट व्यवस्थापनको प्रयास जारी रहेको प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए। 

प्रदेश सरकारमार्फत म्याग्दीमा चालु आवमा सातवटा सडक र दुईवटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउन एक अर्ब २० करोड बजेट स्रोत सुनिश्चितता भएको छ। स्रोत सुनिश्चितता भएका आठवटा आयोजना ठेक्का प्रक्रिया अघि प्रारम्भ भएको अर्का प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए। रासस


प्रकाशित : आइतबार, असार २ २०८१०९:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend