आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सडक बनेको १८ वर्षपछि स्तरोन्नति

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ३२ २०८१
सडक बनेको १८ वर्षपछि स्तरोन्नति
फाइल तस्बिर

गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको हो।

म्याग्दी- बेनी नगरपालिका-६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ। विसं २०६४ मा निर्माण गरिएको महारानीथान-छाप-डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका-६ को ढलेढुङ्गा-डाँडाबारी खण्डमा कालोपत्र भएको हो।

गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी-६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिए।

'आर्थिक वर्ष २०६४/६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्वको बेनी-दरवाङ सडकको बेनी-ठूलोखोला खण्डको वैकल्पिक मार्ग पनि हो', उनले भने 'आगामी आर्थिक वर्षका लागि प्रदेश समपूरक बजेटमार्फत यो सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिन प्रस्ताव गरेका छौँ।'

चालु आवमा गण्डकी प्रदेश सरकारले ५० लाख र बेनी नगरपालिकाले ३० लाख विनियोजन गरेको रकमबाट महारानीथान-छापा-डाँडाखेत सडक स्तरोन्नति भएको हो।

यो सडकको चार सय मिटर नाली निर्माण चार सय ५२ मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, एक सय ३० मिटर ढलान भएको बेनी नगरपालिकाका इन्जिनियर दिपेश केसीले राससलाई जानकारी दिए। 

बेनी नगरपालिकाले गौरवको आयोजनाका रूपमा महारानीथानबाट छाप हुँदै डाँडाखेततर्फ सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिने नगरप्रमुख सुरत केसीले बताएका छन्। रासस


प्रकाशित : शुक्रबार, जेठ ३२ २०८११०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend