आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

२३ करोड १० लाख लागतमा रुपातालको किनारमा पक्की सडक निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २५ २०८१
२३ करोड १० लाख लागतमा रुपातालको किनारमा पक्की सडक निर्माण

सडक सम्पन्न भएपछि स्थानीयलाई दैनिक यात्रा गर्दा सहजता हुनुका साथै तालको महत्व बढ्ने र पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरिएको छ।

कास्की- कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिकाको बीचमा अवस्थित रुपातालको किनारमा पक्की कालोपत्र सडक निर्माण भएको छ।

रूपाताल एकीकृत संरक्षण परियोजनाले रुपा गाउँपालिकाअन्तर्गत खोलाको छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा साढे सात किलोमिटर अस्पाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिरहेको हो। यसमा २३ करोड १० लाख लागतमा काम भइरहेको छ।

परियोजनाका इन्जिनियर सुनिता गैह्रेका अनुसार रुपाताललाई पुरानै स्वरुपमा फर्काउन करिब चार अर्ब ५० करोडमा लागतमा विभिन्न संरचना निर्माण भइरहेको छ। उनका अनुसार पहुँच मार्गसहित जलाधार क्षेत्रमा तीनवटा सिल्ट्रेसन ड्याम निर्माण गरिएको छ।

सडक सम्पन्न भएपछि स्थानीयलाई दैनिक यात्रा गर्दा सहजता हुनुका साथै तालको महत्व बढ्ने र पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरिएको छ। 

पोखराका फेवा र बेगनास तालपछि तेस्रो ठूलो तालका रुपमा रहेको रुपातालमा पहुँच सडकको अभावमा पर्यटकीय गतिविधि कम भएपछि सुविधा सम्पन्न पक्की सडक निर्माण थालिएको रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए। 

निर्माण सम्पन्न भएपछि तालको महत्व अझ बढ्नुका साथै यहाँको पर्यटन प्रवर्द्धन हुने र स्थानीयको आर्थिकस्तर वृद्धि हुने उनको भनाइ छ। उनले पक्की सडकले तालको मुहारका साथै स्थानीयको दैनिकी फेर्ने बताउँदै खुसी व्यक्त गरे। 

'विसं २०५९ मा हामी आफैँले ट्रयाक खोलेको बाटो बनाउन सुरु गरेका हौँ। अहिले पूरै तालको एक छेउबाट अर्को छेउसम्म पुग्ने गरी पक्की सडक बन्दा असाध्यै खुसी भएका छौँ । पर्यटकीय गतिविधिसँगै स्थानीयलाई समेत बाटोले फाइदा हुनेछ', अध्यक्ष अधिकारीले भने। 

अधिकारीका अनुसार सडक निर्माणले रुपातालमा माछा खरिद तथा बिक्रीका लागि सजिलो हुनुका साथै रुपा गाउँपालिकाका भङ्गरा, जमनकुना, तालबेँसीलगायत क्षेत्रका स्थानीय सडकबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। 

बेगनासताल हुँदै सुन्दरीडाँडा, तालबेँसी हुँदै लमजुङको भोर्लेटार जाने हालको सडक साँघुरो र जीर्ण भएको अवस्थामा रुपातालको किनार हुँदै बनेको यस सडक विकल्पका रुपमा प्रयोगमा आइसकेको अधिकारीले बताए।

रुपाताल एकीकृत संरक्षण परियोजनाका इन्जिनियर नरजङ्ग गुरुङले सडक निर्माणको हालसम्म ८० प्रतिशत काम सकिएको जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षभित्रमा पूरा काम हुनेछ। 

सडक निर्माणका लागि विसं २०७८ असार २३ गते डुकुचु कन्ट्रक्सन प्रालि काठमाडौंसँग ठेक्का सम्झौता गरिएको थियो। सडक नालाबाहेक साढे पाँच मिटर फराकिलो हुनेछ। सम्झौता मितिले ३० महिनाभित्रमा काम सम्पन्न गरिसक्नुपर्ने भए पनि बजेट अभावमा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ। 

'गत चैतभित्रमा कालोपत्रे गर्ने तयारी भएको थियो। बजेट अभावमा सडक समयमै सम्पन्न गर्न केही ढिलाइ भयो। चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिएका छौँ', इन्जिनियर गुरुङले भने।

रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ। साविकको लेखनाथ नगरपालिका-१०, ११ र १४ का केही भाग तालले छोएको छ। ताल पर्यटकीय गन्तव्यसँगै आसपासका सर्वसाधारणको समृद्धिको महत्वपूर्ण आधार बन्ने स्थानीयको भनाइ छ।

लक्षित योजनाअनुसार काम सम्पन्न भई बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने इन्जिनियर गैह्रेले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, जेठ २५ २०८११३:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend