बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

निगममा कार्यकारी अध्यक्ष अधिकारीको मनपरी : आफूनिकटलाई अष्ट्रेलिया पठाउन कार्यविधि उल्लंघन

उडान निश्चित नभएको अष्ट्रेलियामा विपुलालाई अर्थको जिम्मेवारी

शुक्रबार, जेठ २५ २०८१
निगममा कार्यकारी अध्यक्ष अधिकारीको मनपरी : आफूनिकटलाई अष्ट्रेलिया पठाउन कार्यविधि उल्लंघन

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूनिकट एक कर्मचारीलाई अष्ट्रेलियास्थित कार्यालयमा पठाउन परम्परागत प्रक्रिया र कार्यविधिको नै धज्जी उडाएका छन्।

अधिकारीले वायुसेवा निगमको अष्ट्रेलिया उडान निश्चित नहुँदै कर्मचारी पठाउने निर्णय गरेका छन्। जसमा उनले विपुला बराललाई अष्ट्रेलिया स्टेसनको फाइनान्स म्यानेजर बनाएर पठाउने निर्णय गरेका छन्। साथै अधिकारीले कविता आचार्यलाई विमानस्थल प्रमुख र अर्णिमा शाक्यलाई स्टेसन म्यानेजर बनाएर अष्ट्रेलिया पठाउने निर्णय गरेका हुन्।

यो सबै प्रक्रियामा कार्यकारी अध्यक्ष अधिकारीको मनपरी देखिएको निगमकै कर्मचारीहरू बताउँछन्। बराल कार्यकारी अध्यक्ष अधिकारीको निकट कर्मचारी हुन्।

नेपाल एयरलाइन्सले हरेक वर्ष साउनको दोस्रो साता कार्यालय नै तोकेर त्यहाँ पठाउनयोग्य कर्मचारीको सूची सार्वजनिक गर्छ। त्यही सूचीको आधारमा कर्मचारीहरूबीच प्रतिस्पर्धा गराएर विदेशस्थित स्टेसनमा पठाउने काम हुन्छ।

२०८० को साउनमा सार्वजनिक सूचीमा अष्ट्रेलियाको लागि पठाउने सूची नै उल्लेख छैन। किनकि अष्ट्रेलियाको नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई उडानको अनुमति दिएपनि उडान गर्ने विमानस्थलबाट अहिलेसम्म अनुमति तथा स्टल दिइएको छैन। त्यसका लागि आवश्यक प्रक्रिया पनि निगमले पूरा गर्न सकेको छैन।

यी सबै कारणले वायुसेवा निगमको अष्ट्रेलिया उडान तत्काल हुन सम्भव छैन। यस्तोमा कार्यकारी अध्यक्ष अधिकारीले हतार-हतारमा बराललाई अर्थप्रमुख बनाएर अष्ट्रेलिया पठाउने निर्णय गरेका छन्। 

बरालसँगै स्टेसन म्यानेजर र विमानस्थल इन्जार्जको रुपमा पठाउन लागिएका कर्मचारी अनुभव कम भएका कर्मचारी हुन्। कम अनुभव भएका कर्मचारीलाई पठाउनुपछि कार्यकारी अध्यक्ष अधिकारीको ध्येय अष्ट्रेलियामा हुने सबै कारोबार आफूखुसी आफूनिकट कर्मचारीमार्फत गराउन सकियोस् भन्ने रहेको देखिन्छ। 

कार्यविधिभन्दा बाहिर गएर अधिकारीले बराललाई अष्ट्रेलिया पठाउन लागेको निगम स्रोतकै दाबी छ।

निगमको विदेशस्थित कार्यालयमा काम गर्न खटाइने कर्मचारीको योग्यतामा अवकाश हुन तीन वर्षभन्दा बढीको समय रहेको हुनुपर्छ। निगममा ५८ वर्षमा अवकाश हुन्छ। विदेशका लागि ५५ वर्ष पूरा भइ ५६ वर्ष लागेको कर्मचारी पठाउन नपाइने नियम छ।

अर्को त हरेक वर्षको साउनमा योग्यहरूको सूची निकालेर त्यहाँबाट प्रतिस्पर्धा गरेर विदेशस्थित कार्यालयका लागि पठाइन्छ। तर २०८० को साउनमा सार्वजिनक भएको सूचीमा अष्ट्रेलिया समावेश नै छैन।

अहिले जेठमा नै हतार-हतार अष्ट्रेलिया पठाउने निर्णय गर्नुको कारण भने कार्यकारी अध्यक्ष अधिकारीनिकट मानिएकी कर्मचारी बराल यही असार दोस्रो साताबाट ५६ वर्ष प्रवेश गर्नेछिन्। साउनमा सूची सार्वजिनक गरेर पठाउन बराल योग्य नहुने भएपछि अधिकारीले अहिले नै उनलाई अष्ट्रेलिया पठाउने निर्णय गरेका हुन्।

कार्यकारी अध्यक्ष अधिकारीले बराललाई अष्ट्रेलिया पठाउनकै लागि पोस्टिङ कार्यविधिमा समेत संशोधन गरेको खुलेको छ। उनले उक्त कार्यविधि नै लुकाएका छन्। 

कार्यकारी अध्यक्ष अधिकारीले नयाँ गन्तव्यको लागि कर्मचारी खटाउँदा कार्यविधिअनुसार गर्नु नपर्ने र आवश्यकताअनुसार निर्णय गर्न सकिने बनाएका छन्। जसको प्रयोग उनले उडान नै निश्चित नभएको अष्ट्रेलियाका लागि आफूनिकट कर्मचारी पठाउने निर्णय गरेर गरेका छन्। 


प्रकाशित : शुक्रबार, जेठ २५ २०८१११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend