मंगलबार, असार ३१ गते २०८२    
मंगलबार, असार ३१ २०८२
images
images

चार लेन विस्तारदेखि सिग्नेचर ब्रिजसम्म : बजेटमार्फत कुन-कुन सडकलाई दिइयो प्राथमिकता?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
images
images
चार लेन विस्तारदेखि सिग्नेचर ब्रिजसम्म : बजेटमार्फत कुन-कुन सडकलाई दिइयो प्राथमिकता?

राष्ट्रिय राजमार्ग र रणनीतिक सडकअन्तर्गत १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने उल्लेख छ। नारायणी तथा तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण कार्य अगाडि बढाइने जनाइएको छ।

images
images

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सडक पूर्वाधार निर्माणमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको जनाएका छन्। 

images
images

सडक पूर्वाधारलाई सुरक्षित, गुणस्तरीय, दिगो र भरपर्दो बनाइने उल्लेख गर्दै उनले पूर्व-पश्‍चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडक खण्ड र कमला-कञ्‍चनपुर सडक खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य आगामी आर्थिक वर्ष सम्पन्‍न गरिने बताएका छन्।

images
images

काँकड़भिट्टा-लौकही, कमला-ढल्केवर-पथलैया, पथलैया-नारायणघाट,  बुटवल-‍गोरुसिंगे  र  भालुबाङ्ग-लमही सडक खण्ड स्तरोन्नति कार्य सुरु गरिने उल्लेख छ। पूर्व-पश्‍चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन गरिएको छ। 

images
images
images

काठमाडौं-तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ मार्ग निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिने उल्लेख छ। ५७ पुलको निर्माण कार्यलाई तीव्रता दिइनेछ। काठमाडौं-तराई मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन गरिएको छ। 

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत निर्माणाधीन कटुञ्‍जे-आरुघाट सडक खण्ड समेत गरी ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण कार्य सम्पन्न गरिने उल्लेख छ।  मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि ३ अर्ब ६८ करोड विनियोजन गरिएको छ।

हुलाकी राजमार्ग अन्तर्गत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुलको निर्माण कार्य  सम्पन्न गर्न ३ अर्ब ३० करोड विनियोजन गरिएको छ। 

कोशी, कालीगण्डकी र कर्णाली कोरिडोरको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाइने जनाइएको छ। कालीगण्डकी कोरिडोरको गैंडाकोट-राम्दी-मालढुंगा खण्ड र मालढुंगा-बेनी-जोमसोम-कोरोला खण्ड गरी थप ५० किलोमिटर र कोशी कोरिडोरको थप ३० किलोमिटर सडक कालोपत्रे गरिने उल्लेख छ।

कर्णाली कोरिडोरको ५ वटा पुल निर्माण र ५० किलोमिटर सडक स्तरोन्नति गरिने उल्लेख छ। उत्तर दक्षिण कोरिडोरको लागि ४ अर्ब ४३ करोड विनियोजन गरिएको छ। 

मदन भण्डारी राजमार्गको बाँकी निर्माण कार्य अगाडि बढाउन ३ अर्ब ६० करोड विनियोजन गरिएको छ। रत्न राजमार्ग, कर्णाली राजमार्ग, सिद्धार्थ राजमार्ग लगायतका सडक सञ्‍जालको विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ।

नागढुंगा-नौबिसे-मुग्लिङ्ग खण्डमा थप ४० किलोमिटर स्तरोन्नति गरिने उल्लेख छ। आँबुखैरनी-पोखरा खण्डमा कालोपत्रे सम्पन्न गरिने उल्लेख छ। मुग्लिङ्ग-आँबुखैरनी खण्ड विस्तारको निर्माण कार्य सुरु गरिने उल्लेख छ। यसको लागि ९ अर्ब ५७ करोड विनियोजन गरिएको छ। 

शहीद मार्ग अन्तर्गत होलेरी-दारबोट खण्डमा बीस किलोमिटर कालोपत्रे,  दारबोट-घर्ती गाउँ-दुईखोली खण्डमा बीस किलोमिटर ग्राभेल र घोराही-होलेरी खण्डमा कालोपत्रे सुरु गरिने उल्लेख छ। यसको लागि १ अर्ब २५ करोड विनियोजन गरिएको छ।

भेरी कोरिडोर, तमोर कोरिडोर,  महाकाली कोरिडोर, सेती लोकमार्ग  र सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको स्तरोन्नति गरिने उल्लेख छ। कोरिडोर तर्फ ३ अर्ब ८६ करोड विनियोजन गरिएको छ।  

अन्तरदेशीय व्यापारिक मार्गको गल्छीदेखि स्याफ्रुबेशीसम्म सडक स्तरोन्नति कार्य सम्पन्न गरिने उल्लेख छ। स्याफ्रुबेशी-रसुवागढी सडक स्तरोन्नति कार्य सुरु गरिने उल्लेख छ। यसका लागि १ अर्ब ८० करोड विनियोजन गरिएको छ। 

पृथ्वी राजमार्गको विमलनगरदेखि गोर्खाको लिगलिगकोट-भच्चेक-बारपाक-बुङकोट-गोरखाबजार-मनकामना-बेनीघाटसम्म पडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन  र लगानी ढाँचा तय गरी निर्माण कार्य अगाडि बढाइने जनाइएको छ। 

राष्ट्रिय राजमार्ग र रणनीतिक सडक अन्तर्गत १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने उल्लेख छ। नारायणी तथा तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण कार्य अगाडि बढाइने जनाइएको छ। यी कार्यक्रमका लागि २ अर्ब ४६ करोड विनियोजन गरिएको छ। 

सिस्नेखोला-नागढुंगा सुरुङमार्ग निर्माण सम्पन्‍न गरी यातायात सञ्‍चालन गरिने उल्लेख छ। सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ खन्‍ने कार्य सम्पन्न गरिने उल्लेख छ।  

ग्वार्को चोकमा फ्लाईओभरको निर्माण कार्य सम्पन्न गरी यातायात सञ्‍चालन गरिने उल्लेख छ। कोटेश्वर इन्टरसेक्सन निर्माण कार्य सुरु गरिने उल्लेख छ। सुरुङमार्ग, फ्लाईओभर  र इन्टरसेक्सन निर्माणका लागि ५ अर्ब ६३ करोड विनियोजन गरिएको छ। 

राष्ट्रिय राजमार्गको २ सय ५० किलोमिटर र अन्य राजमार्गको ७ हजार ८ सय किलोमिटर सडकको मर्मत सम्भार गर्न ६ अर्ब ५४ करोड विनियोजन गरिएको छ।  


प्रकाशित : मंगलबार, जेठ १५ २०८११७:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend