आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कालीगण्डकी करिडोर : बलेवा-हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति

बिहीबार , जेठ १० २०८१
कालीगण्डकी करिडोर : बलेवा-हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति

दुई खण्डमध्ये बलेवा-हर्मिचौर खण्डमा ५० प्रतिशत भौतिक प्रगति र ३६ प्रतिशत वित्तीय प्रगति भएको छ।

बागलुङ- कालीगण्डकी करिडोरको बलेवा-हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा-हर्मिचौर खण्डको ४४ किलोमिटर सडकमा भौतिक प्रगति ५० प्रतिशत पुगेको छ।

 उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बलेवा-हर्मिचौर खण्डको ४४ किलोमिटरमा कालोपत्रको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ भने मालढुंगा-बलेवा खण्डको १० किमी सडकमा पूर्वाधारको कामले तीव्रता पाएको हो।

बागलुङ खण्डको ५४ किमी सडकमा कालोपत्रका लागि आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्भर्ट र ग्याबिन जालीलगायतका पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेका छन् भने बेस बिछ्याउने कार्यले तीव्रता पाएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताए।

दुई खण्डमध्ये बलेवा-हर्मिचौर खण्डमा ५० प्रतिशत भौतिक प्रगति र ३६ प्रतिशत वित्तीय प्रगति भएको खत्रीको भनाइ छ।

'भुक्तानी दिनसकेमा चालु आर्थिक वर्षमै बलेवा-हर्मिचौर खण्ड कालोपत्र भइसक्ने थियो, प्रगतिअनुसार रकम भुक्तानी गर्न नसक्दा कालोपत्रमा ढिलाइ भएको छ, तर निर्माण कामले तीव्रता पाएको छ, प्रगतिको १४ प्रतिशत रकम भुक्तानी गर्न सकेका छैनौँ', खत्रीले भने, 'आर्थिक वर्ष २०८२/८३ मा सक्नुपर्ने ठेक्का हो, यही प्रगति भएमा आगामी आर्थिक वर्षमा कालोपत्र सकिन्छ।'

सुरुबाटै बलेवा-हर्मिचौर खण्डमा तीव्रगतिमा काम भए पनि बलेवा-मालढुंगा खण्डको १० किमी सडकमा काम सुस्त थियो। पछिल्लो समय कामले गति दिन थालेको जैमिनीका नगर उपप्रमुख हरिहर शर्माले बताए। निर्माण व्यवसायीलाई आर्थिक दायित्व भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायीले भनेजस्तोे काममा तीव्रता पाउन नसकेको उनको भनाइ छ।

बलेवादेखि हर्मिचौर खण्डमा मात्रै सयौँको सङ्ख्यामा मजदुर र स्काभेटरलगायतका आधुनिक औजार प्रयोगले सडक निर्माणले परिणाम लिएको शर्माको भनाइ छ। करिडोरले जैमिनीसहित सिंगो बागलुङलाई फाइदा पुग्ने शर्माले जानकारी दिए। विभिन्न ठाउँमा पर्खाल लगाउने, नाली बनाउने, सडक चौडा बनाउने कार्य अन्तिम चरणमा पुगेको छ।

मालढुंगा-बलेवा खण्डको कामको जिम्मेवारी खड्का-कृष्ण बिएन जेभीले लिएको छ। १० किमी दूरी रहेको यो खण्डका लागि ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको हो। सम्झौताअनुसार दुई वर्षमा मालढुंगा-बलेवा खण्ड कालोपत्र गरिसक्नु पर्नेछ।

यस्तै बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी लिएको छ। तीन अर्ब ३० करोड रूपैयाँ लागतमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ।

करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ घाट छन्। कालीगण्डकीमा मात्र पाइने शालग्राम दर्शनका लागिसमेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ। कालीगण्डकी करिडोर (गैँडाकोट-राम्दी-मालढुंगा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुंगाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किमी सडक एकैपटक कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको छ।

करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ। करिडोर कुल चार सय ३५ किमी लम्बाइ रहेको छ। कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ।

करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १० २०८११३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend