आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

२८ करोड १४ लाख खर्चेर जोमसोम-कागबेनी सडक कालोपत्र गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ९ २०८१
२८ करोड १४ लाख खर्चेर जोमसोम-कागबेनी सडक कालोपत्र गरिँदै

'पिप्स, बिटुमीन आयात र उपकरण व्यवस्थापन गरेका छौँ। सबबेस र बेस राख्ने काम सकिएको छ। चालु आर्थिक वर्षभित्र नै जोमसोमदेखि कागबेनी खण्डमा कालोपत्र सक्नेगरी तयारी गरेका छौँ।'

म्याग्दी- मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ।  

१३ किलोमिटर लामो जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो। राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत जोमसोम-कागबेनी खण्डमा कालोपत्र गर्न वि.स. २०७८ असोज ४ गते रौताह-आत्रेय जेभीले २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो। 

ठेकेदार कम्पन्नीका रौताहका आयोजना व्यवस्थापक सञ्जय भट्टले एक्लेभट्टी क्षेत्रमा दुई किलोमिटर सडकमा कालोपत्र गर्न प्राइमकोट राखेको जानकारी दिए। '२ किलोमिटरमा प्राइमकोट राखिसकेका छौँ,' उनले भने 'पिप्स, बिटुमीन आयात र उपकरण व्यवस्थापन गरेका छौँ। सबबेस र बेस राख्ने काम सकिएको छ। चालु आर्थिक वर्षभित्र नै जोमसोमदेखि कागबेनी खण्डमा कालोपत्र सक्नेगरी तयारी गरेका छौँ।'

१८ महिनाको ठेक्का अवधिको भएको ठेकेदारलाई बेनी-जोमसोम-कोरला सडक आयोजनाले धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुई वर्षपछि कम्पनीले गत भदौदेखि काम थालेका थियो। 

आयोजना प्रमुख ध्रुवकुमार झाका अनुसार यसअघिनै ग्राभेल भइसकेको जोमसोम-कागबेनी सडकको ग्रेड मिलाउने, विस्तार गर्ने, मेसिनरी, ग्याबिन पर्खाल, माटो कटिङ, फिलिङ, नाली निर्माणका लागि ठेक्का लगाइएको थियो। 

जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने आठ वटा खण्डको एक सय १० किलोमिटर सडकमध्ये छ वटाको ७५ किलोमिटरमा ग्राभेल भएको छ।

पच्चीस किलोमिटर लामो चराङ-छोसेर खण्डको ८५ प्रतिशत काम पूरा भएको छ। यो खण्डको स्तरोन्नति सकिएपछि जोमसोम-कोरला नाका जोड्ने सबै खण्ड ग्राभेल गरिने योजना प्रमुख झाले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, जेठ ९ २०८११०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend